काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता माओ माओ त्से तुङको १२५ औँ जन्मजयन्ती मंगलबार विभिन्न कार्यक्रमसहित नेपालमा पनि मनाइँदै छ ।

नेकपा माओवादी केन्द्र लगायतका माओवादी पार्टीहरुले देशभर विभिन्न कार्यक्रम गरेर माओ जयन्ती मनाउँदैछन् । माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम गर्दै छ ।

१८९३ डिसेम्बर २६ मा जन्मेका माओ चीनको विश्व चर्चित लम्बे अभियान, जापान विरोधी युद्घ र मुक्ति युद्घका नेता एवम् नयाँ जनवादी चीनका संस्थापक हुन् ।

माओले १९४९ देखि मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका थिए । मार्क्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले जानिन्छ

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले विश्वमै क्रान्तिका लागि साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवाद मुख्य अवरोध बनेको दाबी गरेको छ । माओको १२५ औँ जन्मजयन्तीका अवसरमा विज्ञप्ति निकालेर क्रान्तिकारी माओवादीले नेपालमा नयाँ जनवादी क्रान्ति र विश्वमा सर्वहारा समाजवादी क्रान्तिको तयारी गर्नुपर्नेमा जोड दिएको छ ।

साम्यवादको उद्देश्य प्राप्तिका लागि माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नयाँ जनवादी क्रान्ति गर्नुपर्ने वैद्यको विज्ञप्तिमा उल्लेख छ ।

Comments