काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा सरकार छोड्नुअघि वाम गठबन्धन भंग गर्ने कसरतमा लागेको खुलासा भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने प्रस्तावलाई अघि सारेर देउवाले वामगठबन्धनलाई फुटाउने अन्तिम कसरत गरेका हुन् ।

शनिवार दाहाललाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाटकालागि डाकेर प्रधानमन्त्री देउवाले झण्डै एक घण्टा कुराकानी गरेका थिए । दाहालसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रले एमालेसँगको गठबन्धन त्यागे दाहाललाई पाँच वर्षकैलागि प्रधानमन्त्री दिन तयार रहेको सहमति पत्र लेखेरै दिन आफू तयार रहेको बताएको माओवादी केन्द्रका नेता अग्नि सापकोटाले खुलासा गरेका हुन् ।

‘तपाईंं नै प्रधानमन्त्री हुनुस्, त्यसो हो भने पाँच वर्षकालागि लेखेरै दिन तयार छौं भन्ने प्रस्ताव अध्यक्ष दाहालसँग राखिएछ’ सोमबार साँझ केही सञ्चारकर्मीसँगको भेटघाटमा सापकोटाले भने, ‘दाहालले देउवालाई यस्तो कुरा नगर्नुस्, पाँच वर्षका लागि रचनात्मक प्रतिपक्षमा बस्ने मानसिकता बनाएर बस्नुस् भन्ने जवाफ दिनु भएछ ।’

दाहाल निकट माओवादी केन्द्रका अर्का नेता बर्षमान पुनले पनि सोमवार नै एक अंग्रेजी दैनिकसँगको कुराकानीमा सरकारको नेतृत्वका लागि माओवादी केन्द्रलाई प्रस्ताव आइसकेको खुलासा गरेका थिए ।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एमाले–माओवादी केन्द्रबीचको एकता भाँड्न अनेक प्रपञ्च सुरु भइसकेको बताएका छन् ।

Comments