मेलबर्न । अष्ट्रेलियाको मेलबर्न सहर अहिले आध्यात्मिक बनेको छ । मेलबर्नवासी नेपालीहरुको समूह , परिवार मात्र नभएर सामाजिक संजाल समेत सप्ताहमय बनेको छ । सप्ताहमा कथावाचनको लागि पण्डित दिनबन्धु पोखरेल मेलबर्न आइपुग्नुभएको छ ।

देशबाट टाढा विदेशमा बसेपनि आफ्नो पहिचान बाँचीरहोस् र व्यवस्थित तरिकाले आफ्ना कार्यक्रम संचालन गर्न सकियोस् भन्ने उद्देश्यले मेलबर्नमा बस्ने नेपाली समुदायले आफ्नै सामुदायिक भवन बनाउने योजनालाई अगाडी बढाइरहेको छ । त्यही योजनालाई मूर्त रुप दिनको लागि सहयोग रकम संकलन गर्ने उद्देश्यले सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले सप्ताह पुराणको आयोजना गर्न लागेको हो ।

सप्ताह आयोजक समितीको गठन गरि समाजका अगुवा तथा संघसंस्थाहरुसंग हातेमालो गर्दै एएनएमसीले सप्ताहको तयारि समेत लगभग पूरा गरिसकेको छ । सप्ताहको निमन्त्रणा र सुचनाको जिम्मेवारी लिनुभएका सामाजिक अगुवा तथा एनआरएनए भिक्टोरियाका पूर्व सचिव माधव पौडेलले हिमालयन कंगारुसंगको कुराकानीमा औपचारिक निमन्त्रणा दिने काम पूरा भइसकेको र सबै जनाको यो उत्साह हेर्दा भव्य रुपमा सप्ताह सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो।

सप्ताहको बारेमा विस्तृत कुरा गर्दै पौडेलले भन्नुभयो, ” अष्ट्रेलियामा रहेका नेपाली राजदुतावास, महावाणिज्यदूत कार्यालय , पर्यटनसंग सम्बन्धित कार्यालय, नेपालको छिमेकी देशहरुका राजदुतावास, एनआरएनएका प्रतिनिधिहरु, राजनीतिसंग सम्बन्धित व्यक्तिहरु, अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सामाजिक संघसंस्थाहरु सम्पूर्णलाई निमन्त्रणा पठाईसकिएको छ । निमन्त्रणा एकदमै सरल र कार्यालय तथा पद नतोकी सबैलाई समान रुपले पठाईएको हुँदा, कोही व्यक्तिले पनि पक्षपात गरिएको वा आफूलाई वास्ता नगरिएको महसुस नगर्न अनुरोध गर्छौं । जस-जसलाई औपचारिक निमन्त्रणा पुगेको छैन, उहाँहरु सबैलाई यही समाचारलाई औपचारिक निमन्त्रणा मानेर सप्ताहमा आइदिनुहुनु विनम्र अनुरोध छ । ” सप्ताहको तयारि योजना अनुरुप नै गएको बताउंदै उहाँले भन्नुभयो, ” सबैकुरा एकदमै सोंचेजस्तो नै गइरहेको छ । मेलबर्न मात्र नभएर अरु राज्यका नेपालीहरुले पनि सहयोग गरिराख्नुभएको छ। ”

सबैलाई सप्ताहमा आउन अनुरोध गर्दै सप्ताहमा आउन नसक्ने तर सहयोग गर्न चाहनेले एएनएमसी BSB:०१३-०१७ खाता नं . २१७१३४०२६ मा सहयोग रकम संकलन गर्न सक्ने समेत पौडेलले जानकारी दिनुभयो । सप्ताहको भव्य सफलताको लागि सबैको साथको आवश्यकता रहेको कुरालाई जोड दिंदै कुराकानीको अन्त्यमा उहाँले भन्नुभयो, ” सप्ताहमा सहभागी हुन सक्नेहरु आइदिनुहोस् , आर्थिक तथा शारीरिक परिश्रमको सहयोग, जे सक्नुहुन्छ त्यही गर्नुहोस् । आउन नसक्नेहरुले नैतिक रुपमा समर्थन गरिदिनुहोस् । नेपालीहरुको एकता र पहिचानको लागि मेलबर्नमा सामुदायिक भवन निर्माण गर्न एकजुट बनौं।”

पण्डित दिनबन्धु पोखरेलको कथावाचन समेत हुने महासप्ताह भोलि अर्थात् १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म हुनेछ । सप्ताहबाट डेढ मिलियन डलर सहयोग रकम संकलन गर्ने लक्ष्य लिइएको छ ।

Comments