संखुवासभा । आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैंले जन्माएका तीन बच्चासँगै खेल्दै – रमाउँदै दिन कटाउने गर्छिन् । १३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र दुई छोराको साथमा हुर्किंदै छिन् ।

१९ वर्षीया उनी आफैं बालापनमा छिन् । निरक्षर उनले अज्ञानताका कारण १३ वर्षमै बालविवाह गरिन् । आमामा हुनुपर्ने गुण उनमा कमै छ तर १७ वर्षको उमेरमा तीन बच्चाका आमा बनिसकिन्।

श्रीमान् अढाई वर्षदेखि खाडीमा
नाबालक छोराछोरीलाई पोषणयुक्त खानेकुरा खुवाउने र आफूले पनि पोसिलो खाना खानुपर्छ भन्ने ज्ञान उनमा छैन । उनको सरल बुझाइमा स्तनपान गराउनु नै आमाको जिम्मेवारी हो, जो गर्दै आएकी छन् ।

स्याबुन-५, देउराली संखुवासभाका फुर्तेम्बा शेर्पासँग २०६८ सालमा निमछिकीको बिहे भएको थियो । उनका श्रीमान् अढाई वर्षदेखि खाडी मुलुकमा छन् । पाँच वर्षीया छोरी निमलमु, तीन वर्षीय छोरा तेन्जी र डेढ वर्षीय छोरा लाक्पाको जिम्मेवारी एक्लो निमछिकीको काँधमा छ ।

जीविकाका लागि दिनभर मजदुरी र साँझबिहान घरको कामले व्यस्त बन्ने उनी बालबच्चाको स्याहारसुसारमा समय दिन पाउँदिनन् । यस्तो लाग्छ, ‘भगवान्’ले नै तिनका केटाकेटी हुर्काइरहेका छन् ।

श्रीमानको सहयोग छैन 
तीन बच्चासँग दिन गुजार्दै आएकी उनी आफूलाई श्रीमानले कुनै पनि सहयोग नगरेको बताउँछिन् । ‘बच्चाहरू खाना खान जान्दैनन्, आफैंले खुवाउनुपर्छ’, उनले भनिन् । आफूले नपढे पनि छोराछोरीलाई पढाउने उनको इच्छा छ । श्रीमान् पनि विदेशमा भएकाले उनका बालबच्चाको भविष्य अन्योलमा छ । हाल उनले ठूली छोरीलाई डेढ घन्टा टाढाको शिव प्राथमिक विद्यालयमा पठाउन सुरु गरेकी छन् ।

Comments