नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा सबैभन्दा बढी घाटा भएका कारण घाटा न्युनिकरण हुन नसकेको जनाएको छ ।

निगमका अनुसार प्रतिसिलिन्डर ग्यासमा ५ सय ५३ रुपैयाँ घाटा रहेको कारण मासिक घाटा न्युनिकरण नभएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दै गए पनि एलपी ग्यासमा मूल्य घटबढ हुन नसक्दा घाटा यथावत रहेको हो ।

निगमले ल्याउने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा महँगो मूल्यमा एलपी ग्यास नै ल्याउने गरेको तथ्याङ्कबाट देखिएको छ । प्राप्त तथ्याङ्कअनुसार रक्सोलको खरिद मूल्य प्रतिसिलिन्डर  एक हजार ४ सय ७९ रुपैंया रहेको छ भने त्यसमा २ सय ४५ रुपैंया मूल्य अभिवृद्धिकर,  ५६ रुपैंया ८० पैसा निगमको ऋणको ब्याज खर्च, १ सय १८ रुपैंया ढुवानी भाँडा, ७ रुपैंया १० पैसा निगमको प्रशासनिक खर्च, त्यस्तै ६२ रुपैंया ५५ पैसा कमिशनलगायतको खर्च जोड्दा रु दुई हजार २३ पर्न जाने निगमले बताएको छ ।  निगमले एक हजार ४ सय ७० रुपैंयामा प्रतिसिलिन्डर ग्यास बेच्दै आएको छ ।

Comments