काठमाडौं । चुनावी अभियानका क्रममा झापा पुगेका प्रचण्ड छोरा प्रकाशको निधन भएको खबर पाए लगत्तै विहान १० बजेपछि मात्र हेलिकोप्टर चार्टर गरेर काठमाडौं आइपुगे ।

एयरपोर्टबाट सीधै उनी लाजिम्पाटस्थित निवास पुगे । पत्नी सीतालाई सम्हाल्न उनी अस्पतालभन्दा पहिला निवास गएका थिए । त्यसको केही समयपछि उनी नर्भिक अस्पताल पुगे ।

बुहारी बिना मगर अस्पताल प्रवेश गरेको केहीबेरमै प्रचण्डको गाडी प्रवेश गर्‍यो । त्यहाँ जम्मा भएका हजारौं मान्छेका आँखा प्रचण्डलाई एक झलक हेर्न लालायित थिए । क्यान्सरका कारण पुत्री वियोग सहनु परेको ३ वर्ष नबित्दै हृदयाघातबाट पुत्र वियोगको बज्रपात प्रचण्डले कसरी सहन गर्लान् रु उनको अनुहारमा सन्तान बियोगको झलक सहजै देख्न सकिन्थ्यो ।

छोरी रेणुसहित गाडीबाट ओर्लिँदा प्रचण्डका आँखा टिलपिल देखिन्थे । नेपालकै सबैभन्दा ठूलो र लामो सशस्त्र युद्धदेखि ठूला ठूला राजनीतिक आन्दोलनको कमाण्डर बनेका प्रचण्ड, यो क्षणमा युद्ध हारेको सिपाही जस्ता देखिन्थे ।

संसार जित्न हिँडेकाहरु पनि आफन्तको मृत्युसँग पराजित हुन्छन्, प्रचण्डको हालत यस्तै देखियो ।

तर, पनि प्रचण्ड सम्हालिँदै अस्पतलाभित्र प्रवेश गरे । उनको पछिपछि हिँडेकी छोरी रेणु भातृ वियोगको पीडा लुकाउन नसक्ने गरी रुँदै थिइन् । भित्रै रहेका एक प्रत्यक्षदर्शीका अनुसार प्रचण्ड र रेणु प्रकाशलाई राखिएको ठाउँसम्म पुग्दा त्यहाँ रुवाबासी चलेको थियो । कसैले कसैलाई सम्हाल्ने अवस्था थिएन ।

प्रचण्डले प्रकाशको उपचारमा संलग्न चिकित्सकहरुसँग सामान्य जानकारी लिए । नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरी पनि सँगै थिए । प्रकाशलाई अस्पताल ल्याइपुर्‍याउनुअघि नै उनको निधन भइसकेको जानकारी चिकित्सकहरुले प्रचण्डलाई दिए ।

प्रकाशलाई मध्यराति २ देखि ३ बजेको बीचमा आकस्मिक हृदयाघात भएको हुनसक्ने चिकित्सकहरुले सुनाए ।

कठिन क्षणमा पनि प्रचण्ड सम्हालिएको अनुभव सुनाए प्रकाशको निधनको खबर सुनाउने चिकित्सकले । प्रचण्ड पुगेर जानकारी लिएलगत्तै प्रकाशको पार्थिव शरीर नर्भिक अस्पतालको एम्बुलेन्समा राखेर पार्टी कार्यालय पेरिसडाँडातिर लगिएपछि पनि अस्पताल परिसरमा केहीबेर रुवाबासी चल्यो ।

पार्टी कार्यालयमा आफ्नो एकमात्र छोराको शवमा आफैंले झण्डा ओढाइरहँदा भने प्रचण्ड सम्हालिन सकेनन् । उनी भक्कानो छाडेर रोएको दृश्य कारुणिक थियो । पार्टीले एक सदस्य गुमाएको थियो । तर, प्रचण्डले आफ्नो एकमात्र छोरा गुमाएका थिए ।

लगातार सन्तान बियोगको पीडाबाट सीता दाहाल भने थेगिन नसक्ने अवस्थामा पुगेको उनको उपस्थिति कतै नहुनुले पनि पुष्टि हुन्छ ।

प्रकाशको पार्थिब शरीरमा श्रद्धान्जली अर्पण गर्दैगर्दा उनकी कान्छी दिदी सीमा सम्हालिन सकिनन् । उनी भाइको शवमा टाँसिएर केहीबेर रोइन् । अर्की दिदी रेणु पनि सम्हालिन सकिरहेकी थिइनन् । एउटै भाइको अन्तिम बिदाइ गर्दा दिदीहरुको चित्कार थामिनसक्नु थियो ।

Comments