काठमाडौं । अभिनेता रमेश उप्रेतीको फिल्मी करियरकै परीक्षाको रुपमा लिइएको चलचित्र ‘ऐश्वर्य’ विहीवारबाट अल नेपाल रिलिज भएको छ । मिथिलाञ्चलको ठूलो पर्व छठको अवसर पारेर रिलिज भएको ऐश्वर्य भाग्यमानी सावित भएको छ । नेपाल सरकारले विहीवार र शुक्रवार दुई दिन सार्वजनिक विदाको घोषणा गरेपछि ऐश्वर्यलाई भाग्यमानी चलचित्रका रुपमा हेर्न थालिएको हो ।

एउटै समयमा धेरै चलचित्रको रिलिज डेट जुधिरहेको अहिलेको अवस्थामा रमेश उप्रेती निर्मित ऐश्वर्य ‘ऐश्वर्य’ले सोलो रिलिजको अवसर पाउनुलाई पनि निर्माता उप्रेतीको गुड लक मानिएको थियो । झन् त्यसमाथि रिलिजभए लगत्तै लगातार तीन दिन सार्वजनिक विदा परेपछि ऐश्वर्यले निर्माता उप्रेतीलाई आर्थिक रुपमा राहत दिलाउने अपेक्षा गर्न थालिएको छ ।

गत साता रिलिज भएका २ नेपाली चलचित्रले खासै गतिलो व्यापार गर्न नसकेपछि अहिले सबैको ध्यान ‘ऐश्वर्य’ माथि केन्द्रीत भएको छ । तिमी रोएको पल बोलको गीतबाटै चर्चामा आएको चलचित्र ऐश्वर्यमा सुपर मोडल प्रशान्त ताम्राकारको उपस्थिति र नव नायिका दीपिका प्रसाइँको सौन्दर्यले नायक रमेश उप्रेती भने केही ओझेलमा परेका छन् । तर पर्दामा ओझेल परे पनि व्यवसायिक रुपमा भने रमेशलाई नै फाइदा हुनेछ । किनभने उनी ऐश्वर्यका लगानीकर्ता हुन् । चलचित्रमा रमेशको अभिनय सामान्य छ । बरु नव अभिनेत्री दीपिकाले प्रशंसायोग्य अभिनय गरेकी छिन् । अर्की मुख्य अभिनेत्री केकी अधिकारीलाई केटाकेटीपन देखिने भूमिका पात्रअनुसार सुहाउँदो लाग्छ ।

चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । किरन राना उप्रेती यसका निर्मात्री हुन् । चलचित्रमा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी, दीपिका प्रसाई लगायतका कलाकारको मुख्य भूमिका छ ।

कुनै जमानाका ‘हिट’ अभिनेता रमेश उप्रेतीले निर्माण गरेको चलचित्र उनको जमानाभन्दा माथि उठ्न त सकेको छैन तर फिल्मका केही पक्ष भने चाखलाग्दा छन् ।

चलचित्रको कथामा खासै नयाँपन केही छैन । काठमाडौंको व्यवसायी राघव जबरा (प्रशान्त ताम्राकार) लाई जसरी भए पनि ऐश्वर्य (पैसा) चाहिएको छ । उता प्रतिस्पर्धी समीर (रमेश उप्रेती) भने अरूको विश्वास जितेरै कमाउन चाहन्छ । तर पैसा मात्रले पनि पुगेको छैन समीरलाई । यी दुईको व्यावसायिक प्रतिस्पर्धा एकातिर छ, अर्कोतिर समीर आफ्नै कम्पनीको ग्रान्ड ओपनिङमा आउने मोडल दीपिका प्रसाईंसँग एकाएक प्रेममा पर्छ । अर्कातिर आफ्नो वृत्ति (करीअर) लाई अगाडि बढाउन आफ्नो प्रेमीसँग पनि सम्झौता नगर्ने दीपिकाको कमजोरीलाई प्रशान्तले आफ्नो फाइदाका लागि प्रयोग गर्छ । यिनै कथाबीच अल्झिएको ‘प्रेम’ र ‘धन’ को रेस कसरी अगाडि बढ्दै जान्छ भन्ने बुझ्न फिल्म नै हेर्नुपर्ने हुन्छ ।

चलचित्रको केही पक्षले भने आनन्द दिन्छ । जस्तो कि, दीपिका र प्रशान्तको बोल्ड अभिनय, केकी अधिकारीको चरित्र, सटीक संवाद र रमेश उप्रेतीको एक्सन दृश्य ।

Comments