गोरखा । कुनै बेला एउटै पार्टीभित्र समान हैसियतमा काम गरेका दुई नेताबीच चुनावी प्रतिस्पर्धा हुने भएपछि गोरखा–२ अहिले चर्चामा छ  माओवाद छाडेर नयाँ शक्ति पार्टी खोलेका डाक्टर बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठबीचको चुनावी भिडन्तलाई चौतर्फि रुपमा रोमाञ्चक तरिकाले लिएको छ । नागरिक दैनिकमा समाचार छ ।

कांग्रेसको आडमा उम्मेदवार बनेका भट्टराई र एमालेसँग साथ लागेका श्रेष्ठ स्थानीय तहमा पाएको मतान्तरको जोडघटाउ मिलाएर जिल्ने दाउमा छन् । अघिल्लो संविधानसभा निर्वाचनमा ३ क्षेत्र रहेको गोरखा अहिले २ क्षेत्रमा खुम्चिएको छ । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा भट्टराई गोरखा–२ बाट सर्वाधिक मत ल्याएर विजयी भएका थिए । २०७० को निर्वाचनमा उनी गोरखा –१ बाट विजयी भएका थिए ।

नयाँ शक्ति पार्टी खोलेर माओवादी छाडेपछि उनको सांसद पद गुमेको थियो । यसबाट केही मतदाताले निराशासँगै चिन्ता व्यक्त गरेका थिए । स्थानीय तह निर्वाचनको मताधारलाई हेरेर अहिले दुवै नेता आफूले सहजै जित्ने दाबी गरिरहेका छन् ।

Comments