काठमाडौं । कात्तिक शुक्ल द्वादशीदेखि गरिने तुलसीको उद्यापन यस वर्ष गर्न नहुने भनी गरिएको हल्लाप्रति नेपाल पञ्चांग निर्णायक समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

असार शुक्ल एकादशीदेखि सुरु गरिएको चतुर्मास व्रत तथा पूजा समापन, कात्तिक कृष्ण प्रतिपदादेखि सुरु कात्तिक स्नान, नव अन्नप्राशन (नयाँ उत्पादित धान, मासलगायत अन्न) चढाएर खाने, पूजा एवम् हवन गरिने काम नियमित भएकाले यस वर्ष बृहस्पति अस्ताए पनि गर्न हुने समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताउनुभयो ।

तुलसीको हवन प्रत्येक वर्ष कात्र्तिक शुक्ल द्वादशीदेखि मार्ग शीर्ष कृष्ण पञ्चमीसम्म गरिने नियमित कर्म भएकाले शास्त्रीय मान्यताअनुरूप नै गर्नुपर्ने समितिले जनाएको छ । यस वर्ष कात्तिक १५ गते बुधबारदेखि २२ गते बुधबारसम्म यो कर्म गर्न शास्त्रसम्मत हुनेछ । अस्तमा पनि नित्य र नैमित्तिक कर्म गरे फल पाइने र नगरे दोष लाग्ने अध्यक्ष गौतमले बताउनुभयो ।

यस वर्ष असोज २५ गते बुधबार पश्चिमबाट अस्ताएका बृहस्पति कात्तिक २० गते सोमबार पूर्वबाट उदाउने समितिले जनाएको छ ।

Comments