हिमालयन कङ्गारु विशेष संवाददाता /काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि आज सोमवार निर्वाचन हुँदैछ ।

शनिबारदेखि सुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार बेलुकाबाट सोमबार बिहान नौ बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ ।

एनआरएनको अध्यक्षका लागि आइतबार वर्तमान उपाध्यक्ष भवन भट्टले मात्र आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्षका दाबेदार रहनुभएका जमुना गुरुङ र टिबी कार्कीले भने आइतबार बेलुकासम्म आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छैन । उहाँहरुले सोमबार बिहान उम्मेदवारी दर्ता गर्ने बताइएको छ ।

विभिन्न १३ पदमा ३५ जना चयन हुने व्यवस्था भएपनि आकांक्षीको संख्या भने २ सयभन्दा बढी देखिएका छन् । आकांक्षी धेरै भएपछि एनआरएनएको यसपटकको विश्व सम्मेलनमा एजेण्डामुखी निर्वाचन हुने देखिएको छ ।
एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक÷एक जना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक÷एक जना तथा युवा संयोजक र उपसंयोजक एक÷एक जना रहने व्यवस्था गरिएको छ । ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रचारप्रसारको आ–आफ्नै शैली

नयाँ नेतृत्वमा पुग्न उम्मेदवारहरु आइतवार दिनभनर प्रचारप्रसारमा व्यस्त रहे । आफ्ना समर्थक प्रतिनिधि र सहयोगी परिचालन गरी उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त रहेका थिए । कतिपय उम्मेदवारले आफ्नो तस्बिरअंकित टिसर्टमार्फत प्रचारप्रसार गरेका छन् भने कतिपयले आफ्नो नारा लेखिएको टिसर्टलाई प्रचारप्रसारको माध्यम बनाएका छन् । उम्मेदवारहरुले प्रचारप्रसारमा भिजिटिङ कार्ड र पर्चाको पनि उत्तिकै प्रयोग गरेका छन् ।

सोमबार दिउँसोबाट मतदान हुनेछ । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ नै मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् ।

यसैबीच आइतवार दिनभरि चलेको बन्दसत्रले अध्यक्ष शेष घलेले प्रस्तुत गर्नुभएको एनआरएनएका मार्गदर्शन प्रस्ताव ‘भिजन २०२० एण्ड वियोण्ड’ पारित गरेको छ ।

प्रस्तावमा नीति निर्माण संस्था र परोपकारी कामका लागि सहयोग कोष स्थापना गर्ने उल्लेख छ । अध्यक्षको अधिकार उपाध्यक्ष, महासचिवलगायतका सचिवालयमा पनि बाँड्ने, गैरआवासीय नेपालीको दोस्रो पुस्तालाई पनि एनआरएनएमा समेट्ने कार्यक्रम ल्याउने उल्लेख छ । सम्मेलन मंगलबार समापन हुनेछ ।

Comments