काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबाट आचारसंहिता उलंघन भएकोबारेमा निर्वाचन आयोग मौन बसेपछि शनिबार साँझ ७ बजे नयाँ मन्त्रीहरुको सपथ हुने भएको छ ।

शनिबार दिउँसो निर्वाचन आयोगका पदाधिकारीसँगको परामर्शपछि राष्ट्रपतिको कार्यालयले नयाँ मन्त्रीहरुको सपथका लागि देउवा सरकारलाई बाटो खोलिदिएको हो ।

निर्वाचन आचारसंहिता जारी भएकै समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राप्रपाबाट आठजनालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तारको निर्णय गर्नुभएको थियो ।

राप्रपाबाट अध्यक्ष कमल थापा उपप्रधानमन्त्री बन्दै सरकारमा जानु भएको छ । राप्रपाले चारजना मन्त्री र चारजना राज्यमन्त्रीका रुपमा सरकारमा जाने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले एमालेसँग चुनावी गठबन्धन गरेपछि कांग्रेसले सरकार टिकाउन विकल्प खोज्ने क्रममा राप्रपालाई साथ लिएको हो । यसैबीच शनिबारै सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारबाट नबाहिरिने निर्णय गरेको छ ।

राप्रपाबाट नयाँ मन्त्री थपिएपछि सरकारमा मन्त्रीहरूको संख्या ६४ पुगेको छ । देउवाले सात पटकसम्म मन्त्रिपरिषद विस्तार गरिसक्नुभएको छ । यो सरकार नेपालको इतिहासकै सबैभन्दा जम्बो पनि भएको छ ।

Comments