काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने तयारी गरेको छ ।

महाशाखाका निर्देशक डा. भीम आचार्यले बाहिर हल्ला भएको जस्तो कीट अभाव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निकै धेरै होइन, केही मात्रामा अभाव भएको छ, हामीले आपूर्तिमा पाँच÷पाँच हजार स्क्रबटाइफस पत्ता लगाउने कीट खरिदका लागि पत्राचार गरिसकेका छौँ, प्रक्रिया शुरु भइसकेको छ ।’

अघिल्लो वर्ष चार जनाको ज्यान लिएको डेंगु यो वर्ष दुई हजार २२ जनामा देखिएको छ । महाशाखाका अनुसार जनवरीदेखि हालसम्म १७ जिल्लामा देखिएकामा सर्लाही, महोत्तरी, धादिङ र चितवनमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । गत वर्षभन्दा धेरै संक्रमित भए पनि कसैको मृत्यु नभएको निर्देशक आचार्यले बताउनुभयो ।

गत वर्ष एक हजार ५०० व्यक्तिमा डेंगु देखिएको थियो । पानी परेन भने डेंगुका बिरामी घट्ने निर्देशक आचार्यले बताउनुभयो । उहाँले अब बढीमा १०० जनासम्म बिरामी देखिनसक्ने अनुमान गर्नुभयो ।

Comments