काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा यो सिजन गतिलो प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले आइतबार राति भएको खेलमा एभर्टनलाई ४–० ले पाखा लगाएको छ।

म्यानचेस्टर युनाइटेडकै पूर्वकप्तान वाइने रुनीले आक्रमणको मोर्चा सम्हाले पनि एभर्टनले नराम्रो हार भोग्न बाध्य भयो । यसअघिका तीन खेलमा जित र एकमा बराबरी गरेको म्यानयुलाई बलियो प्रतिद्वन्द्वीविरुद्ध सजिलो जित दिलाउन खेलको चारौँ मिनेटमै एन्टोनियो भ्यालेन्सियाले अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको म्यानयुले थप तीन गोल भने दोस्रो हाफको अन्तिम समयको १० मिनेटभित्र गर्न सफल भयो । अन्तिम समयमा सम्हालिन नसक्दा एभर्टनले लगालग गोल खान बाध्य भयो ।

म्यानयुका लागि खेलको ८३ औँ मिनेटमा हेनरिक म्क्हितार्यानले गोल गर्दै खेललाई २–० को अवस्थमा पुर्याए । त्यसपछि ८९ औँ मिनेटमा लुकाकुले गोल गर्न सफल भए । खेलको अतिरिक्त समयमो दोस्रो मिनेटमा एन्थोनी मार्सियलले पेनाल्टीमा गोल गर्दै ४–० को जित पक्का गराए ।

यो जितसँगै ५ खेलबाट १४ अंक बनाउँदै म्यानयु प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । ऊसँगै ५ खेलबाट १४ अंक जोडेको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी पहिलो स्थानमा छ । पराजित एभर्टन भने ५ खेलबाट केबल ४ अंकसहित लिगको १८ औँ स्थान अर्थात रेलिगेसन जोनमा रहेको छ ।

 

Comments