कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अधिकारका लागि फेरि बुन्दुक उठाउन तयार रहेको बताउनुभएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो  ।

‘आवश्यक परेमा अधिकारका लागि हामी बुन्दुक उठाउन तयार छौँ’, उहाँले भन्नुभयो, ‘हामीले युद्धको होइन अधिकारको कुरा गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘हामीले कहिल्यै युद्धको कुरा गरेका छैनौं । तर अधिकारका लागि बन्दुक उठाउन तयार छौँ ।’

नेपालका सबै नेता विदेशीको इशारामा चल्ने गरेको बताउँदै त्यसमा दिल्लीको विशेष भूमिका रहेको बताउनुभयो । ‘यो देशका सबै नेताहरु दिल्लीको इशारामा चल्ने गरेका छन्’, उहाँले भन्नुभयो, ‘यो देशका कुनै पनि नेता काठमाडौंबाट चल्ने हिम्मत राख्दैनन् ।’

चन्दले देशमा शान्ति नआएको बताउँदै चन्दले अहिले पनि पनि द्वन्द्व भइरहेको उल्लेख गर्नुभयो । ‘देशका ठुलाबडाहरुलाई शान्ति भएको होला’, चन्दले थप्नुभयो, ‘यो देशका दलित, गरिब र सुकुम्बासीको बस्तीमा शान्ति आएको छैन ।’

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जनतालाई धोका दिएको बताउँदै उहाँले उनीहरुलाई जनताले माफ नदिने जिकिर गर्नुभयो । ‘प्रचण्ड र बाबुरामले जनतालाई धोका दिए’, चन्दले भन्नुभयो, ‘यिनीहरुलाई जनताले माफ दिनेवाला दिने छैनन् ।’

अहिलेको चुनाव र संविधान आफुहरुले नमान्ने बताउँदै चन्दले त्यसकाविरुद्ध जनसत्ता ब्युँत्याउने तयारी गरेको बताउनुभयो । सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले जनयुद्धपछि शान्तिमा आउँदा माओवादीसँग हजारौँ मानिस भएको र अहिले माओवादी झिंगाले पनि हेर्न छाडेको बताउनुभयो ।

‘माओवादी शान्तिवार्ता आउँदा माओवादीसँग लाखौँ मानिस थिए’, उहाँले भन्नुभयो, ‘प्रचण्डले जनतालाई धोका दिए, अहिले माओवादीलाई झिंगाले पनि हेर्न छोडे । प्रचण्ड र माओवादी खस्कँदै गएको छ ।’

विश्वकर्माले नेपालका कुनै पनि नेता भारतको अक्सिजनबिना बाँच्न नसक्ने बताउनुभयो । ‘भारतले नेपालका नेतालाई नदिने हो भने यिनीहरु भारतको आशिर्वादबिना बाँच्नै सक्दैनन्’, विश्वकर्माले थप्नुभयो ।

Comments