काठमाडौँ । सरकारले २३ दिनदेखि अनशनरत त्रिवि शिक्षण अस्पतालका प्रा.डा गोविन्द केसीको अनशन तोडाउने तयारी गरेको छ । नेपाल सरकारका सचिव शान्तबहादुर श्रेष्ठले डा. केसीको बिग्रँदो स्वास्थ्यप्रति प्रधानमन्त्री गम्भीर रहेको बताउनुभएको हो ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सचिव श्रेष्ठले अधिकांश माग पुरा भइसकेको भन्दै तत्काल अनसन तोड्न आग्रह गर्नुभएको छ ।

डा. केसीलाई मंगलबारै अनसन तोड्न लगाउने बताउँदै सचिव श्रेष्ठले भन्नुभयो, ‘नारायणकाजी श्रेष्ठ, गगन थापा र नागरिक समाजका विज्ञहरु डा.केसीका मागप्रति संवेदनशील हुनुहुन्छ, हामी पनि लागिरहेका छाँै, मुख्यगरी प्रधानमन्त्री यस बारे निक्कै चिन्तित हुनुहुन्छ ।’

स्वास्थ्य र शिक्षा क्षेत्रको ऐन कानुन बनाउने काममा सरकार चुकेको भन्दै सचिव श्रेष्ठले अगाडि भन्नुभयो, ‘हामी पहिले नै चुकेका छौँ, अहिलेको स्थितिमा राज्यले मनमोहान किन्ने हो भने उत्तिकै मान्यता दिएका अन्य अस्पताल पनि किन्नुपर्छ भन्ने आवाज उठ्न सक्छन्, यो विषय भन्दा डा.केसी बाँच्नपर्छ, पहिले उहाँलाई बचाउन लागौँ अरू कुरा हुँदै गर्छन् ।’

चिकित्सा शिक्षा विद्येयक कार्यदलका सदस्य तथा नेपाली काँग्रेस सांसद जीवन परियारले डा.गोविन्द केसीले अनसन तोड्नुपर्ने बताउनभएको छ । साक्षात्कारमा बोल्दै सांसद परियारले डा.केसीले नउठाएका तर मुुलुक हितका लागि आवश्यक कुरा पनि समेटेर समितिले विधेयक पास गरिसकेको भन्दै २३ दिनदेखि अनसनरत डा. केसीलाई तत्काल अनसन तोड्न आग्रह गर्नुभएको छ ।

काठमाडौमा नयाँ शिक्षण अस्पताल खोल्न नमिल्ने, सरकारी छात्रवृतिबाट पढेका चिकित्सकले सरकारले खटाएको स्थानमा ३ वर्ष काम गर्नुपर्ने जस्ता माग सम्बोधन भएको भन्दै काँग्रेसका युवा नेता परियारले सबै शिक्षण अस्पतालहरुले ५० प्रतिशत छात्रवृतिमा पढाउने पर्ने विधेयक संसद्मा पठाएको जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा एमाले युवा नेता एवम् सांसद डा.बंशिधर मिश्रले कार्यदल समितिबाट पास भएको चिकित्सा शिक्षा विधेयक सरकारले संसद्मा छलफल गर्नको लागि आग्रह गर्नुभएको छ । डा.मिश्रले मनमोहन अधिकारीको नाममा आज झगडा गर्न उचित नहुने पनि बताउनुभयो ।

‘म गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँछु, उहाँ बाँच्नपर्छ, सरकारले उहाँका माग सम्बोधन गर्नुपर्छ’ मिश्रले भन्नुभयो, ‘नयाँ अस्पताल खोल्न पाउने नपाउने भन्दा अस्पतालको भौतिक स्थिति, जनशक्ति, सेवा सुविधा, गुणस्तरबारे अनुगमन र मूल्याङ्कन गर्नुपर्छ ।’

आसयपत्र लिइसकेका शिक्षण अस्पताललाई विचलित नहुने गरी सकारले काम गर्न नहुने उहाँको भनाइ थियो । ‘यसो भन्दैमा डा.केसीका मागको बेवास्ता गरिनुपर्छ भन्न खोजेको होइन, हामी पनि गम्भीर छौँ, केसीको बिग्रिँदो स्वास्थ्यस्थितिलाई सामान्य बनाउन सकार गम्भीर हुनैपर्छ ।’

Comments