काठमाडौ । निर्वाचन आयोगले दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा कडाइ गरेको छ । आयोगले स–साना विषयमा मतगणनालाई प्रभावित हुन नदिन भन्दै पहिलो चरणको निर्वाचनको मतगणनामा भन्दा बढी सतर्क हुँदै कडाइ  गरेको हो ।

जारी मतगणनामा दल तथा उम्मेदवारका प्रतिनिधिलाई गणनामा राख्दा आयोगले पहिले भन्दा बढी सतर्कता र सावधानीसमेत अपनाएको छ । केही गणनास्थलमा आयोगले मतगणनामा हुने सम्भावित विवादलाई न्यूनीकरण गर्न भन्दै सीसी क्यामेरासमेत जडान गरेको छ ।

मतगणना गर्दा आयोगबाट खटिएका कर्मचारी पहिलो घेरामा गणनाका लागि खटेका छन् भने दोस्रो घेरामा दल तथा उम्मेदवारका प्रतिनिधि गणनास्थलमा बसेका छन् । केही गणनास्थलमा कर्मचारीबाहेका व्यक्ति उम्मेदवार वा प्रतिनिधिले मतपत्र छुन नसक्ने वा नभेट्ने गरी डोरीले घेरासमेत लगाइएको छ ।

प्रायः स्कुल भवनहरूमा भएका गणनास्थलमा स्कुलका बेन्चमा दल तथा दलका प्रतिनिधिलाई बस्ने स्थान दिइएको छ भने गणनामा खटिएका कर्मचारी सो स्थानभन्दा केही परको दूरीमा रहेर गणना जारी राखेका छन् । आयोगले शनिबार पदाधिकारी बैठकबाटै पनि मतगणना प्रभावित नहोस् भनेर मतपेटिकामा भएको मतलाई नै आधिकारिक मानेर गन्न सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई समेत निर्देशन दिएको छ । मतगणनामा बसेका दलका प्रतिनिधि तथा उम्मेदवारका प्रतिनिधिबीच नै मत संख्याको आधारमा विवाद हुन सक्ने र गणना प्रभावित हुनसक्ने अवस्था नआओस् भनेर सो निर्णय गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

गत ३१ वैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा मतगणनाका क्रममा धेरैजसो स्थानमा विवाद हुँदा गणनामा धेरै समय लागेको थियो । देशका पाँच महानगरमध्ये भरतपुर महानगरमा मतगणनाका क्रममा विवाद हुँदा मतपत्र नै च्यातिएपछि आयोगले यसपटक बढी सतर्कता अपनाएको छ ।

आयोगका प्रवक्ता शर्माले सुरक्षाका हिसाबले आयोगले पहिलो चरण निर्वाचनमा भन्दा बढी सतर्कता अपनाएको बताए । ‘पहिलो चरणको निर्वाचनमा पनि आयोग सतर्क नभएको त होइन, तर अहिलेको गणनामा पहिलेभन्दा आयोग बढी सतर्क भएको हो, अहिले आयोगले स–साना कुरामा पनि दल तथा उम्मेदवारका प्रतिनिधिलाई र कर्मचारीलाई समेत सचेत गराएको छ,’ प्रवक्ता शर्माले भने ।

उनले पहिलो चरणको निर्वाचनमा केही स्थानमा भएका घटनाले मत परिणाममा ढिलाइ भएको भन्दै अहिलेको गणनालाई चुस्त दुरुस्त अघि बढाउँदै जतिसक्दो छिटो परिणाम सार्वजनिक गर्ने ध्येयका साथ आयोग अघि बढेको समेत बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments