काठमाडौं ।  प्रमुख  राजनीतिक दलले यही असार १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि महिलालाई उम्मेदवारी दिँदा दोस्रो पदमै खुम्चाएका छन् ।  संविधानले स्थानीय तहको प्रमुख तथा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था गरे पनि ठूला दलहरूले दोस्रो पदमै महिला उम्मेदवारलाई सीमित गरेका हुन् ।

दोस्रो चरणमा हुन लागेको ३५ जिल्ला अन्तर्गत १, ५ र ७ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि प्रमुख तीन दलले दिएको महिला उम्मेदवारी दोस्रो पदतिरै धकेलिएका छन् ।  संवैधानिक बाध्यता र  निर्वाचन जित्न सक्दैन भन्ने बहानामा महिलालाई प्रमुख पदको जिम्मेवारीमा विरलै विश्वास गरिएको छ ।

प्राप्त तथ्याङ्क अनुसार प्रमुख तीन राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले २४ जना महिलालाई प्रमुखमा उम्मेदवारी दिएको छ ।  तीन प्रदेशमा कूल ३३४ स्थानीय तहमा निर्वाचन हुन गइरहेको छ । व्यवस्थापिका संसद्मा ठूलो दल नेपाली काँग्रेसले सात जना महिलालाई मात्रै प्रमुख वा अध्यक्ष पदको उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ भने एमालेले आठ जना महिलालाई प्रमुख वा अध्यक्ष पदमा उम्मेदवार बनाएको छ ।

तेस्रो ठूलो दल माओवादी केन्द्रले नौ जना महिलालाई प्रमुख वा अध्यक्ष पदका लागि उम्मेदवारी दिएर निर्वाचनमा उठाएको छ ।  बाँकी स्थानीय तहमा महिलाको अधिकांश उम्मेदवारी उपप्रमुख वा उपाध्यक्षमा मात्रै सीमित छ ।  शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ९सङ्कल्प० नेपालकी अध्यक्ष लिली थापा प्रमुख पदमा महिला उम्मेदवारी उत्साहजनक नरहेको बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, ‘राजनीतिक दलहरूले स्थानीय तहको पहिलो पदमा उम्मेदवारीका लागि महिलालाई प्रोत्साहन गरेको देखिएन । ’

गएको वैशाख ३१ गते सम्पन्न पहिलो चरणमा सम्पन्न ३, ४ र ६ प्रदेशअन्तर्गत ३४ जिल्लाको २८३ स्थानीय तहको निर्वाचनबाट २८२ तहमा आएको परिणामअनुसार चार जना प्रमुख र आठ जना अध्यक्षमा महिला निर्वाचित हुनुभएको थियो ।  प्रमुख र अध्यक्ष गरी ठूला दलबाट जम्मा २९ जनाको उम्मेदवारी परेको थियो ।  नेपाल महिला सङ्घका अनुसार नेपाली काँग्रेसले सात जना महिलालाई प्रमुख वा अध्यक्षमा उम्मेदवारी दिएकोमा नगरपालिकाको प्रमुखमा दुई महिलाले मात्रै उम्मेदवारी पाएका छन् ।

नेपालीका काँग्रेस पार्टीभित्र रहेर महिलालाई कम्तिमा ३३ प्रतिशत प्रमुख पद चाहिन्छ र त्यो नेतृत्व गर्ने क्षमता भएका महिला छन् भनेर सुरूदेखि लाग्नु भएकी सङ्घका सभापति उमा रेग्मीले नेतृत्वमा अगाडि आउन महिलाले पाइला पाइलामा सक्षम प्रमाणित गर्नुपरेको बताउनुभयो ।

प्रमुख पदमा उम्मेदवारीका लागि दाबी गर्ने काँग्रेसका कैयौँ आकाङ्क्षी महिला जिल्लाबाट केन्द्रमा सिफारिस गर्नुअघि नै हटाइएको भन्दै उहाँले भन्नुभयो ‘नेतृत्व गर्न सक्षम महिला बीचबाटै फालिए । ’ पहिलो चरणमा नेपाली काँग्रेसको तर्फबाट प्रमुख वा अध्यक्षमा टिकट पाएका महिलामध्ये अधिकांशले चुनाव जित्नुभएको थियो । अखिल नेपाल महिला सङ्घका अनुसार दोस्रो ठूलो दल नेकपा एमाले ३३४ स्थानीय निकायमध्ये तीन नगरपालिका र पाँच गाउँपालिका गरी आठ महिलालाई प्रमुख वा अध्यक्षमा उम्मेदवारी दिए पनि महिला नेत्रीहरू त्यसमा सन्तुष्ट हुनुहुन्न ।
अखिल नेपाल महिला सङ्घका उपाध्यक्ष सीता पौडेलले महिलालाई एमालले दिएको उम्मेदवारीको अवस्था हेर्दा जनताले विश्वास गरे पनि दलका नेतृत्वले महिलालाई विश्वास गर्न नसकेको बताउनुभयो ।  साथै उहाँले दलहरूको सोचमा परिवर्तन ल्याउन अहिले प्रमुख पदमा जितेका महिलाले पाँच वर्षपछि देखाउने कार्यक्षमताको प्रभावकारीतामा निर्भर हुने तर्क गर्नुभयो ।

यस्तै माओवादी केन्द्रले नौ जना महिलालाई मात्रै प्रमुख उम्मेदवार बनाएकोमा नगरपालिकाको प्रमुखमा सात जना रहेका छन भने दुई जना गाउँपालिकाको अध्यक्ष पदका लागि हुनुहुन्छ ।  माओवादी केन्द्रका नेतृ शशी श्रेष्ठले महिला सक्षम हुँदाहुँदै पनि पार्टी नेतृत्वमा  पुरूषवादी सोच र चिन्तनको हावी रहनुको परिणति न्यून उम्मेदवारी भएको बताउनुभयो ।

स्थानीय तह निर्वाचन ऐन २०७३ ले तोकेरै दलले उम्मेदवार बनाउँदा प्रमुख वा उपप्रमुख पदमध्ये एकमा महिलालाई अनिवार्य उम्मेदवार बनाउने व्यवस्था गरेको छ तर यो व्यवस्थालाई दलहरूले महिलालाई  ‘उप’ पदमा उम्मेदवार बनाउने व्यवस्थाको रूपमा मात्रै लिएको छ ।  कानूनी प्रावधान अनुसार दुई वा त्यसभन्दा बढी दलबीच तालमेल हुँदा पहिलो र दोस्रो पद दुबैमा महिला उम्मेदवारी अनिवार्य   छैन ।  यो सुविधाको पनि दलहरूले पहिलो चरणका निर्वाचनदेखि नै राम्ररी उपयोग गर्दै आएका छन् ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार दोस्रो चरणको निर्वाचनमा ६२ हजार ६९२ जनाले उम्मेदवारी दिएका छन् ।  त्यसमध्ये निर्वाचन आयोगले अहिलेसम्म ५९ हजार ५५७ जनाको यकीन गरेको छ ।  कतियपय दुर्गम स्थानको उम्मेदवारीको पूरै विवरण आएको छैन ।  प्राप्त विवरणमा महिलाको सङख्या २३ हजार ५७२ रहेको छ भने पुरूषको सङख्या ३६ हजार ९८३ जना र तेस्रो लिङ्गी दुई जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments