काठमाडौं ।  आयोडिनको मात्रा कमी भएको अवस्थामा लाग्ने थाइराइड रोगका बिरामी बढ्न थालेका छन् ।  बालबालिका, युवा, वयस्क र वृद्धवृद्धासमेत थाइराइडको सिकार हुने भन्दै चिकित्सकले समयमै थाइराइडबारे सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपालमा यति नै संख्यामा थाइराइडका बिरामी छन् भन्ने राष्ट्रिय तथ्याङ्क नभए पनि विशेषज्ञ चिकित्सक कहाँ आउने थाइराइड बिरामीको चापले गर्दा पनि नेपालमा थाइराइडका बिरामी बढ्दै गएको अनुमान लगाउन सकिन्छ ।

थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले नेपालमा थाइराइडका बिरामीको संख्यामा वृद्धि हँुदै गएको बताउनुभयो । अन्य विकसित देशभन्दा नेपाल थाइराइडको समस्याले बढी प्रभावित भएको भन्दै डा. भट्टराईले हर्मोनका कारणले हुने रोग भएकाले यसबारे जनचेतना भएमात्र पनि थाइराइडबाट बच्न सकिने बताउनुभयो ।

बाल तथा थाइराइड रोग विशेषज्ञ डा. विनोदकुमार शाहले थाइराइड हर्मोनको मुख्य काम हड्डीको विकास, शारीरिक विकास, तापक्रम नियन्त्रण तथा मस्तिष्कको विकासमा परिपक्वता हुने हुनाले थाइराइडबाट बच्नुपर्ने सुझाव दिनुभयो ।  महिलामा थाइराइड हर्मोनले गर्भवती भएको पहिलो तीन महिनामा गर्भमा रहेको बच्चाको मस्तिष्कको विकास र त्यसको परिपक्वतामा अत्यन्त महìवपूर्ण भूमिका निर्वाह गर्ने भन्दै थाइराइड ग्रन्थीमा गडबढ हुनबाट बच्नुपर्ने बताउनुभयो ।

उहाँले नवजात शिशुमा थाइराइड हर्मोनको कमी तथा बढी हुनाले पनि मस्तिष्कको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै स्थायी रूपमा नै बालबालिकाको बुद्धिको विकासमा कमी हुन जाने बताउनुभयो ।
थाइराइड दुई किसिमका हुने जानकारी दिँदै उहाँले नेपालमा हाइपो थाइराइडिज्म पहिलो स्थानमा आउने बताउनुभयो ।  थाइराइड ग्रन्थी कम चल्यो भने हाइपो थाइराइडिज्म र बढी चल्यो भने हाइपर थाइराइडिज्म भनिन्छ ।  डा. शाहले बालबालिकामा बढी मात्रामा हाइपो थाइराइडिज्म देखिने जानकारी दिनुभयो ।  उहाँले पहाडी र हिमाली भेगका मानिसहरू थाइराइडबाट पीडित हुने भन्दै समय–समयमा थाइराइडबाट बच्न स्वास्थ्य परीक्षण गराउन सुझाव दिनुभयो ।

वरिष्ठ थाइराइड विशेषज्ञ डा. डिना श्रेष्ठले नेपालमा दिनहुँ थाइराइडका बिरामी वृद्धि भइरहेको जानकारी दिनुभयो ।  उहाँले हर्मोनको गडबढीले गर्दा थाइराइडको समस्या उत्पन्न हुने भन्दै बालकदेखि वृद्धसम्म थाइराइडको समस्या हुने भएकाले थाइराइडबारे सचेत हुनुपर्ने सुझाव दिनुभयो ।

डा. श्रेष्ठले आफूले परीक्षण गरेका बिरामीमध्ये २० प्रतिशत थाइराइडका बिरामी भेटिने जानकारी दिनुभयो ।  अस्पताल आएकामध्ये २० प्रतिशतलाई थाइराइडको समस्या भएको भन्दै श्रेष्ठले ग्रामीण क्षेत्रमा यो संख्या अझ धेरै हुने बताउनुभयो ।  अझै पनि ग्रामीण क्षेत्रमा गलगाँड भएका मानिस भेटिने गरेको जानकारी दिँदै देशका कतिपय स्थानमा आयोडिनयुक्त नुन पुग्न नसकेको बताउनुभयो ।

यसैबीच, बिहीबार विश्व थाइराइड दिवस मनाइएको छ ।  थाइराइड के हो, कसरी बच्न सकिन्छ भन्ने उद्देश्यले विभिन्न सङ्घसंस्था तथा अस्पतालले विश्व थाइराइड दिवस मनाएका छन् ।  नर्भिक अस्पताल, अल्का अस्पताल, मेट्रो अस्पताललगायतका स्वास्थ्य सङ्घसंस्थाले विश्व थाइराइड दिवसका अवसरमा चेतनामूलक कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments