ललितपुर । मतदान भएको नौ दिनपछि ललितपुर महानगरपालिकाको मेयर र उपमेयरमा काँग्रेसका चिरिबाबु महर्जन र गीता सत्याल निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उम्मेदवारहरूलाई हराउँदै काँग्रेस उम्मेदवार ललितपुर महानगरपालिकाको पहिलो मेयर र उपमेयरमा निर्वाचित भएका हुन् ।

मतगणनाको पहिलो दिनदेखि नै कडा प्रतिस्पर्धा देखिएको मेयरमा अन्ततः महर्जनले जितलाई आफ्नो पोल्टामा पारेका छन् । २४ हजार ६ सय ६६ मत ल्याएका महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई जम्मा ३६५ मतले पछाडि पारे । व्यञ्जनकारले २४ हजार तीन सय एक मत प्राप्त गरे ।

उपमेयरमा विजयी सत्यालले भने निकटतम प्रतिस्पर्धी साझा पार्टीकी शोभा शाक्यलाई चार हजार आठ सय तीन मतअन्तरले पराजित गरिन् । सत्यालले १९ हजार दुई सय ३६ ल्याइन् भने शाक्यले १४ हजार चार सय ३३ पाइन् ।

को हुन् चिरिबाबु ?

ललितपुर महानगरपालिकाको पहिलो जननिर्वाचित मेयर बन्ने सौभाग्य पाएका चिरिबाबु महर्जनको जन्म १६ मंसिर ०१४ सालमा ललितपुरको पुल्चोकमा भएको हो ।

त्रिभुनव विश्वविद्यालयबाट एमकम उत्तीर्ण चिरिबाबु ललितपुरका जनताबीच कति लोकप्रिय छन् भन्ने कुरा उनी यसअघि ललितपुर नगर र उपमहानगरमा तीनपटकसम्म निर्वाचित वडा अध्यक्ष थिए भन्ने तथ्यले पुष्टि गर्छ ।

पहिले पार्टीले टिकट दिएर र त्यसपछि जनताले निर्वाचित गरेर उनको काँधमा महानगरपालिकाको ठूलो भारी हालिदिएका छन् । तर, उनी यो भारीलाई जिम्मेवारीबोधसहित पूरा गर्ने बताउँछन् । निर्वाचित भएपछि उनले महानगरपालिकाभित्र बढ्दै गएको भ्रष्टाचार, अनियमितता कम गर्ने, महानगरबासीलाई सेवा प्रवाह गर्ने काममा हुने ढिलासुस्ती अन्त्य गरेर सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महानगरभित्र समस्या बन्दै गएको धुँवा, धुलो, प्रदुषण न्युनिकरण देखि, गोरखा भूकम्पले भत्काएका लतिललपुरका ऐतिहासिक, सांस्कृतिक सम्पदाको पुरानै स्वरुपमा पुनर्निर्माणका योजनासम्म उनले बनाएका छन् । ललितपुर महानगरपालिकालाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बनाउन उनको योजना छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments