काठमाडौं । मन्त्रिपरिषद्को फोटो सेसनः राजीनामा दिने मनस्थिति बनाइसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम भन्दै मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

‘अहिलेसम्म सँगै काम गर्यौँ र तपाईंहरूबाट मैले राम्रो सहयोग पाएँ, सबैलाई धन्यवाद छ,’ बैठकमा भावुक बनेका प्रचण्डले भने । आफूले आजै संसद्मा राजीनामा दिने बताउँदै उनले सबै मन्त्रीलाई उपस्थितिका लागि आग्रह पनि गरे । बैठकपछि उपस्थित उपप्रधानमन्त्रीसहित सबै मन्त्रीहरूसँग उनले सामूहिक फोटो पनि खिचाए ।
स्थानीय तह थप्ने निर्णय फिर्ता नगरे संसद् अवरुद्ध गर्ने र प्रधानमन्त्रीलाई सम्बोधन गर्न नदिने एमालेको चेतावनीपछि संसद् नै चलेन ।

एमालेले अवरोध गर्नुका चार कारण

१. सहमतिविपरीत तह बढाउने निर्णय

प्रतिपक्षीको सहमतिमा मात्रै निश्चित मापदण्डका आधारमा स्थानीय तहको संख्या हेरफेर गर्ने पूर्वसहमति सरकारले एकतर्फी भंग गरेको आरोप एमालेको छ । उसले निर्णय फिर्ता नलिए संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

यसअघि पूर्वउपप्रधानमन्त्री कमल थापाले तराईका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउन सर्कुलर गरेको भन्दै एमालेले सदन अवरोध गरेको थियो । सदन सुचारु गर्ने क्रममा सर्कुलर फिर्ता लिने र प्रतिपक्षको सहमतिका आधारमा मात्रै संख्या बढाउने सहमति सरकारले भंग गरेको एमालेको आरोप छ ।

२. संविधान र कानुनविपरीत निर्णय

संविधान र कानुनअनुसार संख्या र सिमाना हेरफेर गर्नै नसकिने भएकाले सरकारले गैरसंवैधानिक काम गरेको आरोप पनि एमालेको छ । संविधानमा स्थानीय तहको संख्या र सिमाना हेरफेर आयोगको सिफारिसमा मात्रै गर्न सकिने तथा कानुनमा त्यसका लागि एक वर्षअघि नै समिति बनाएर गृहकार्य गर्नुपर्ने उल्लेख रहेकाले त्यसविपरीत सरकारले निर्णय गरेको उसको आरोप छ ।

३. चुनाव प्रभावित पार्ने आशंका

पूर्वसहमतिविपरीत एकतर्फी कार्यदल बनाएर तराईमा स्थानीय तहको संख्या र सिमाना हेरफेर गर्नुमा दोस्रो चरणको निर्वाचन प्रभावित पार्ने उद्देश्य रहेको एमालेको आशंका छ । २२ वटा संख्या थप्दा एमालेले जित्न नसक्ने गरी सिमाना हेरफेर गरिएको एमालेको विश्लेषण छ । ‘पहिलो चरणको निर्वाचनका प्रतिस्पर्धी जो दोस्रो चरणमा पनि प्रतिस्पर्धी हुनुहुन्छ, तपाईंहरूले एकतर्फी सिमाना हेरफेर गर्नुभएकाले हामीलाई मान्य छैन भन्ने धारणा प्रस्टसँग राखेका छौँ,’ एमाले नेता सुवास नेम्वाङले भने ।

४. चुनाव सार्न संख्या बढाएको दाबी

स्थानीय तहको संख्या थपिनेबित्तिकै ती स्थानमा मतदाता नामावली संकलनदेखि मतदाता परिचयपत्र निर्माण, निर्वाचन कार्यालय खोल्नेलगायतको काम गर्नुपर्ने हुन्छ । तर, निर्वाचन आयोगले अबको ठीक नौ दिनमा उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ । निर्वाचन आयोगले संख्या थप्दा कठिनाइ हुने जनाइरहेकै अवस्थामा सरकारले निर्वाचन नगर्ने उद्देश्यले संख्या थप्ने निर्णय गरेको एमालेको आरोप छ ।

एमालेको अवरोधले राजीनामा दिन पाएनन् प्रधानमन्त्रीले

सत्तासाझेदार कांग्रेससँगको भद्र सहमतिअनुसार प्रधानमन्त्री प्रचण्ड मंगलबार संसद्लाई विशेष सम्बोधन गरेर राजीनामा दिन ठिक्क परेका थिए । राजीनामापत्र बोकेरै उनी दिउँसो संसद् भवन पुगेका थिए । तर, तराईमा २२ वटा स्थानीय तह थप्ने सरकारको निर्णयको विरोध गर्दै एमालेले संसद् अवरोध गर्ने र प्रधानमन्त्रीलाई सम्बोधनसमेत गर्न नदिने अडान लिएपछि प्रचण्डको राजीनामा रोकियो । दलहरूबीचको विवादका कारण संसद् नै नचलेपछि राजीनामापत्र त्यत्तिकै बोेकेर प्रधानमन्त्री बालुवाटार फर्किएका छन् ।

तीन दल बैठकमा देउवा–ओली भनाभन

प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान २२ वटा स्थानीय तह थप गर्ने सरकारको निर्णय र बजेटको विषयमा छलफल गर्न तीन दलको बैठक बोलाएका थिए । प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल चलिरहँदा बैठकमा पुगेका एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत स्थानीय तह थपिएको भन्दै आपत्ति जनाए । ओली यत्तिमै रोकिएनन् । उनले निर्वाचनको मुखमा प्रचण्डले छाडेर कांग्रेस सभापतिलाई प्रधानमन्त्री बन्न किन हतारो भन्दै प्रश्न पनि गरे । ‘निर्वाचनको आचारसंहिता लागू भएको यस्तो वेला प्रचण्डजीलाई छाड्न र शेरबहादुरजीलाई प्रधानमन्त्री बन्न किन हतारो हो ?’ ओलीले दुई नेतालाई तीखो प्रश्न गरे ।

ओलीको प्रश्नले देउवा आक्रोशित बने । दुई दलबीचको भद्र सहमति र सत्ता गठबन्धनको विषयमा किन धेरै चासो लिएको भन्दै उनले ओलीको प्रतिवाद गरे । ‘हामीबीच सहमति छ र म प्रधानमन्त्री बन्छु भने तपाईंलाई किन अप्ठ्यारो ?’ ओलीको प्रश्नजस्तै देउवाको रुखो जवाफ थियो । दुई नेताबीचको भनाभनले बैठक नै प्रभावित बन्यो । दिउँसो पुनः छलफल गर्ने गरी बैठक टुंगियो । त्यसलगत्तै एमाले प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा पनि सरकार फेर्ने र स्थानीय तहको संख्या थप्ने विषयमा ओलीले आपत्ति जनाए । संसद् भवन नयाँ बानेश्वरमा भएको तीन दलको बैठकमा पनि ओली आक्रामक शैलीमा प्रस्तुत भए ।

दोस्रो निर्वाचनसम्म नकुर्ने ‘मुड’मा देउवा

पार्टी्भित्रै बाट दोस्रो चरणको निर्वाचनसम्म प्रधानमन्त्रीका लागि हतार नगर्न दबाब परे पनि कांग्रेस सभापति शेरबहादुर देउवा तत्काल प्रधानमन्त्रीको राजीनामाको पक्षमा छन् । उनीनिकट नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार दोस्रो चरणको निर्वाचन कुर्ने ‘मुड’मा देउवा छैनन् । ‘सभापति पनि दोस्रो चरणको निर्वाचनपछि मात्र प्रचण्डबाट राजीनामा आउनुपर्छ भन्ने पक्षमा हुनुहुन्न,’ कार्कीले भने । सरकार परिवर्तन हुँदा बजेट ल्याउन र निर्वाचनलाई कुनै असर नहुने देउवाको बुझाइ छ ।

आज के हुन्छ संसद्मा ?

प्रधानमन्त्री प्रचण्डले बुधबारको संसद् बैठक अवरोध भए राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने योजना बनाएका छन् । ‘सदनलाई जानकारी गराएर सम्बोधनसहित राजीनामा प्रधानमन्त्रीको पहिलो विकल्प हो, तर त्यसो नभए मिडियासमक्ष आफ्ना भनाइ राखेर राजीनामा दिनुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले भने ।

स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता नलिए एमालेले बुधबारको संसद् बैठक अवरोध गर्ने तयारी गरेको छ । ‘हामीले प्रस्ट भनेका छौँ, संख्या थप्ने निर्णय फिर्ता लिनुस्, अवरोध गर्दैनौँ’, नेम्वाङले भने ।

कांग्रेसले बुधबार संसद्मा प्रक्रिया अघि बढ्ने जनाएको छ । ‘प्रधानमन्त्रीले राजीनामा दिने वचनबद्धता गरिसक्नुभएको छ । अब संसद्मा बुधबार प्रक्रिया अघि बढ्छ,’ कांग्रेस नेता डा. रामशरण महतले भने ।

प्रचण्ड र देउवालाई ओलीको झटारो

– दिनभर के गरे प्रधानमन्त्रीले ?
– के थियो संसद्को कार्यसूची ?
– ओलीले किन अड्काए बैठक ?
– ओलीको सहमतिमै संख्या थपिएको गच्छदारको दाबी

संख्या थपिएकोबारे हामीलाई औपचारिक जानकारी नै छैन । समस्या धेरै थुपार्ने काम गरिएको छ, आयोगलाई तयारीका लागि ठूलो समस्या पर्ने देखिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments