काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले संसद विघटन गर्न लागेको हल्ला निराधार भएको जनाएको छ ।

सोमबार बिहान बसेको बैठकपछि माओवादीले संसद विघटनको कुनै सम्भावना नरहेको दाबी गरेको हो ।

यस्तै, माओवादीले कार्यपालिका र व्यवस्थापिकाको कार्यक्षेत्रमा ठाडो हस्तक्षेप गरेकाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराउनु परेको निष्कर्ष निकालेको छ । कार्यपालिका र व्यवस्थापिकामाथि निरन्तर हस्तक्षेप गर्दै परिवर्तन समेत आत्मासात् नगर्ने प्रवृत्ति देखिएपछि प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग लगाउनु परेको प्रवक्ता पम्फा भुसालले बताउनु भयो । उहाँले मुलुकलाई नयाँ ढंगले अघि बढाउन पनि प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनु परेको दाबी गर्नु भयो ।

सत्तारुढ दुई ठूला दल काँग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदले कार्यपालिकामाथि हस्तक्षेप गरेकोलगायतका ८ बुँदे अभियोग लगाउँदै प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको थियो ।

Comments