काठमाडौ । विश्वको सर्वोच्च शिखर सगरमाथा चुम्न जाने आरोहण दलका सदस्यले कति फोहोरजन्य सामग्री लैजान पाउने सीमा तथा लगिएका सामग्री फिर्ता नगरे धरौटी जफतसहित थप कारबाही हुने कानुनी व्यवस्था छ । तर, हिजोआज सगरमाथा फोहोरै फोहोरको थुप्रोले ढाक्न थालेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् ।

सगरमाथा (८, ८४८ मि) को फोहोर व्यवस्थापन गर्न सरकारले सगरमाथा प्रदूषण नियन्त्रण संस्थालाई जिम्मा दिए पनि सगरमाथाको आधारशिविरदेखि चुचुरोसम्म फोहोर झन् बढ्दा पर्यटन व्यवसायी चिन्तित बनेका हुन् । कानुनी आधार प्रशस्तै भए पनि फोहोर व्यवस्थापन गर्न जिम्मा लिएको संस्थाले काम नगर्दा फोहोरको थुप्रो बढ्दै गएको आरोहीको आरोप छ ।

आरोहण दलका सदस्यले प्रयोग गरेका सामग्री जथाभावी फाल्दा आधारशिविरदेखि चुचुरोसम्मै फोहोरले ढाकेको पाइएको हो । बिहीबार सगरमाथाको ६,४६० मिटरमा रहेको क्याम्प दुई पुगेर आधारशिविर फर्केका पर्वतीय गाइड आङदावा शेर्पाले जथाभावी फोहोरैफोहोर देख्नुभयो । उहाँले अन्नपूर्णलाई जानकारी दिँदै भन्नुभयो, ‘जथाभावी टेन्ट, फलाम, प्लास्टिक, रबरजस्ता वस्तुले फोहोर बनाएको छ ।’ क्याम्प दुई पुगेका उहाँले जताततै फोहोरै फोहोर थुप्रो देखेपछि विदेशी पर्यटकले समेत फोहोर व्यवस्थापनबारे आलोचना गरेको सुनाउनुभयो ।

आरोही र कामदारले फोहोरलाई हिउँले पुर्ने गर्दा हिउँ पग्लिएपछि फोहोर बाहिर देखिएको उहाँको भनाइ छ । फोहोर व्यवस्थापनका लागि पर्वातारोहणसम्बन्धी नियमावली २०५९ मा फोहोरलाई तीन वर्गमा विभाजन गरी सम्बन्धित निकायले नै फोहोर ल्याउनुपर्ने व्यवस्था गरिएको छ । नियमावलीको बुँदा नम्बर २७ मा नष्ट गर्न सकिने, पुनः प्रशोधन गर्न सकिने, पुनः निकासी गर्नुपर्ने फोहोरमैला यकिन गरी आरोहण दलले आफंै फोहोर ल्याउनुपर्ने किटानी गरेको छ ।

नष्ट गर्ने फोहोर आधार शिविरमा जलाउने, पुनः प्रशोधन गर्न सकिने फोहोर काठमाडौं महानगरपालिकालाई ल्याएर बुझाउनुपर्ने र पुनः निकासी गर्नुपर्ने फोहोर सम्बन्धित आरोहीले आफ्नो देशमा फिर्ता लानुपर्ने कानुनी व्यवस्थाले स्पष्ट गरेको छ । नियामवलीको बुँदा २६ मा फोहोरमैला व्यवस्थापनका लागि तीन हजार डलर धरौटी राख्नुपर्ने व्यवस्था छ । आफूले लगेको फोहोरजन्य सामग्री नल्याए धरौटी फिर्ता नहुने कडा व्यवस्था पनि छ ।

फोहोरजन्यवस्तु कस्ता र कति परिणाममा हिमालमा लगेको भन्ने तथ्यांक राखी फिर्ता ल्याए÷नल्याएको अनुगमन गरी पर्यटन विभागलाई सिफारिस गर्ने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण संस्थाले लिएको छ । पर्वतारोही सञ्चालक संघले सन् २०१८ सम्म सगरमाथा सफाइ अभियान सञ्चालन गरी त्यसलाई पूर्ण सरसफाइयुक्त गराउने घोषणा गरेपछि पर्यटन विभागले सहयोग गरेको छ । फोहोरमैला व्यवस्थापनको निगरानी आरोहण दलका सम्पर्क अधिकृत, सगरमाथा प्रदूषण नियन्त्रण संस्थाले गर्नुपर्ने भए पनि यो नगर्दा सगरमाथामा फोहोर बढेको सगरमाथा आरोहीको भनाइ छ ।

हिउँभन्दा फोहोर बढी देखेपछि आरोहणका लागि आएका विदेशी पर्यटक खिन्न हुने गरेको पर्वतीय गाइड आङदावा शेर्पा बताउनुहुन्छ । फोहोरबारे आरोही र कामदारमा चेतना अभाव हुनु, ट्रेकिङ एजेन्सी पनि जिम्मेवार नहुनु र सरसफाइको जिम्मा लिएको सगरमाथा प्रदूषण नियन्त्रण संस्थाको अनुगमन र निगरानी कमजोर हुनुले फोहोर बढेको शेर्पाको ठहर छ । हिमाल सुरक्षाका विषयमा चासो नराखी पैसा कमाउने ध्येय मात्रै राख्ने गैरजिम्मेवार एजेन्सी थपिएका कारण सगरमाथा क्षेत्रमा फोहोर थुप्रिएको आरोही गाइडको आरोप छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिले ०५४ सालदेखि प्रतिआरोही पाँच सय डलर लिँदै आएको र ०७० सालदेखि परिमार्जन गरी प्रतिआरोही ६ सय डलर असुल गर्न थालेको हो । बाटो मर्मत गरेबापत र सामग्री खरिद गरेबापत शुल्क लिएको संस्थाको दाबी छ । यता, बाटो मर्मत गरी बचेको रकम त्यस क्षेत्रको वातावरण प्रदूषण नियन्त्रणका लागि प्रयोग गर्ने भनिए पनि फोहोर व्यवस्थापनमा कुनै चासो नदेखिँदा सगरमाथाको प्रदूषण नियन्त्रणमा प्रश्न उठेको छ ।

समितिले शौचालय निर्माणदेखि फोहोर संकलन केन्द्र स्थापना गर्दै आएको जनाएको छ । प्रत्येक आरोहीले आठ सय डलर बुझाउने गरे पनि फोहोर आफैं ल्याउनुपर्ने व्यवस्था छ तर सम्बन्धित पक्षले अर्बाैं रकम संकलन गरे पनि प्रदूषण नियन्त्रणका लागि प्रभावकारी पहल नभएको आरोहीको गुनासो छ । आधारशिविरभन्दा माथिको फोहोर व्यवस्थापनबारे सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष आङदोर्जे शेर्पालाई सोध्दा आफूहरूलाई फोहोर संकलन गर्ने जिम्मा नभएको बताउनुभयो ।

प्रत्येक आरोही र कामदारलाई आठ÷आठ किलोग्राम फोहोर आधारशिविरसम्म ल्याउन लगाउने र क्याम्प दुईमा फोहोर व्यवस्थापनका लागि कर्मचारी राखेर अनुगमन गरी फोहोर गर्नेलाई कारबाही गर्दै आएको उहाँको दाबी छ । तर, फोहोरै फोहोर भएका तथा सफाइ कसले गर्ने भन्ने प्रश्नमा उहाँले संकलन गर्ने जिम्मा आफूहरूको नभएको उल्लेख गर्नुभयो ।
पर्यटन विभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकाल कानुनले सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मा स्वयं आरोहण दललाई नै दिइसकेको स्मरण गर्नुहुन्छ । फोहोर व्यवस्थापनमा अनुगमन र निगरानी गर्न र बाटो निर्माणको जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई दिएको उहाँको भनाइ छ । समितिले फोहोर व्यवस्थापनमा कडाइसाथ अनुगमन नगर्दा हिमालमा फोहोर बढेको हुन सक्ने भन्दै थप कडाइ गरिने ढकालले बताउनुभयो ।

विभागले क्याम्प दुईदेखि चुचुरोसम्म बाटो, सरसफाइ र निगरानी गर्न पर्वतारोही सञ्चालक संघलाई प्रतिआरोही दुई सय डलर संकलन गर्ने जिम्मा दिए पनि कार्यान्वयन भएको छैन । समितिले भने क्याम्प दुईबाट फोहोर ल्याउने जिम्मा नभएको र ल्याएका फोहोर मात्र व्यवस्थापन गर्ने जिम्मा पाएको जनाएको छ । उसले फोहोर व्यवस्थापनका लागि सिफारिस गर्ने जिम्मा भने आफूले पाएको स्विकारेको छ ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments