मेलबर्न । लागू औषध कारोबारमा संलग्न एक नेपाली युवालाई अष्ट्रेलियन प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार प्रहरीले ५० हजारभन्दा बढी एमडीएमए ट्याबेलटसहित एक नेपाली युवालाई सिड्नीबाट पक्राउ गरेको हो । नियमित जाँचका क्रममा मध्यान्ह १२ः३० बजे डार्लिंगहस्र्टको लिभरपुल स्ट्रीटमा नेपाली युवाको गाडी रोकेको थियो । उनको व्यवहार शंकास्पद पाएपछि प्रहरी जाँच गर्दा उनको साथबाट ३२ हजार एमडीएमए ट्याबलेट बरामद गरेको जनाएको छ ।

यस लगत्तै २९ वर्षीय नेपाली युवालाई पक्राउ गरी किंग क्रस पुलिस स्टेशनमा लगिएको थियो । उनको बयानका आधारमा डार्लिंगहस्टस्थित क्राउन स्ट्रीटको कोठामा खानतलासी गर्दा थप २२ हजार ट्याबलेट भेटिएको न्यूसाउथवेल्स प्रहरीले जनाएको छ । उनलाई शुक्रवार नै स्थानीय अदालतमा उपस्थित गराएको थियो । उनीमाथि लागूपदार्थको अवैध कारोबारको अभियोग लगाइएको छ ।

प्रहरीको अनुसन्धानबाट ती नेपाली युवा विद्यार्थी भिसामा अष्ट्रेलिया आएको तर हाल भने भिसा समाप्त भइ ओभरस्टेमा बसेको पाइएको न्यूसाउथवेल्स प्रहरीले जनाएको छ । तर ती युवाको पहिचान भने प्रहरीले गोप्य राखेको छ ।

एमडीएमए केमिकल प्रयोग गरी बनाइएको लागू पदार्थ हो । यसलाई सेवन गर्नु गैरकानूनी हो । न्यूसाउथवेल्समा यस्तो गरेको अवस्थामा अधिकतम ५ हजार डलर जरिवाना र २ वर्षसम्म जेल सजाय वा दुवै हुन सक्ने प्रावधान छ । अझ यसको व्यापार गर्ने अपराध ठहरेको अवस्थामा जरिवाना र सजाय निकै बढी हुन सक्छ ।

Comments