काठमाडौं । सर्वोच्च अदालतले बाबु विदेशी भए पनि वंशजका आधारमा आमाले नेपाली नागरिकता लिएको भए उनीहरूबाट जन्मेका सन्तानलाई अंगीकृत नागरिकता दिन सकिने फैसला गरेको छ ।

सर्वोच्चको फैसलाअनुसार विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएको सन्तानले अंगीकृत नागरिकता पाउने बाटो सहज बनेको छ । तर अंगीकृत लिने सन्तान नेपालमै जन्मेर नेपालमै स्थायी बसोबास गरेको हुनुपर्नेछ ।  बाबुको नागरिकताका आधारमा कुनै सन्तानले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने मात्र त्यस्ता सन्तानलाई अंगीकृत नागरिकता प्रदान गर्न सकिने गरी खुकुलो व्याख्या सर्वोच्चले गरेको छ ।

विदेशी बाबुबाट नेपालमै जन्म लिए पनि गाविस र जिल्ला प्रशासनले अंगीकृत नागरिकता दिन इन्कार गरेको भन्दै सर्वोच्चमा दायर एक रिटमा न्यायाधीश डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो । इजलासले नेपाली आमा र भारतीय बाबुबाट जन्मेका ती सन्तानलाई अंगीकृत नागरिकता दिलाउन गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र जोरपाटी गाविस कार्यालयलाई परमादेशसमेत जारी गरेको छ ।

आफू नेपालमा जन्मेर नागरिकता लिन योग्य भए पनि अंगीकृत नागरिकता नदिएर गाविस र जिल्ला प्रशासनले एक दशकदेखि झुलाएको भन्दै भारतीय बाबु गोपेशचन्द्र गुप्ता र नेपाली आमा सरिता प्रधानका छोरा आदित्यले २०६४ सालमा जोरपाटी गाविसमा निवेदन दिँदा सिफारिस नदिएको दाबीसहित सर्वोच्चमा पुगेका थिए ।

विदेशीसँग विवाह गरेकी नेपाली महिलाको कोखबाट २०५१ चैतमा जन्मेका गुप्ता नेपालमै पठनपाठन गरी बसोबास गर्दै आएका छन् । ‘यी निवेदकले मैले नागरिकता पाउनका लागि २०६४ सालदेखि लगातार प्रयास गरेकोमा सम्बन्धित गाविसले सिफारिस नदिई आलटाल गर्ने, जिल्ला प्रशासन कार्यालयले सिफारिस दिन निर्देशन नदिने तथा नागरिकता दिने सम्बन्धमा कुनै सार्थक ताकेतासमेत नगरिदिएबाट आफू नागरिकताबाट वञ्चित हुनुपरेको उल्लेख गरेको पाइन्छ ।’,

फैसलामा उल्लेख छ, ‘निवेदकले पेस गरेका कागज प्रमाणका आधारमा यी निवेदकले नेपालको संविधान तथा नागरिकतासम्बन्धी प्रचलित कानुनअनुसार आमाको नामबाट नेपालको अंगीकृत नागरिकता पाउने अवस्था स्पष्ट रूपमा देखिएकाले निजलाई सम्बन्धित गाविसले नागरिकता प्राप्तिका लागि सिफारिस दिनुपर्ने र त्यसका आधारमा जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र दिनुपर्ने नै हुन्छ ।

नागरिकता दिने कार्य तथा यसको प्रक्रियासँग सम्बन्धित कार्य गर्न इन्कार तथा आलटाल गर्न मिल्दैन ।’ आमाको नामबाट गुप्ताले नेपालको अंगीकृत नागरिकता पाउने अवस्था देखिएको भन्दै सर्वोच्चले आवश्यक कागजपत्र तथा प्रक्रिया पुर्याएर उपलब्ध गराउन परमादेश जारी गरेको छ । आदित्यले अंगीकृत लिन पाउनुपर्ने भन्दै गत माघ १० मा भएको फैसलाको पूर्ण पाठ सर्वोच्चबाट मंगलबार सार्वजनिक भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments