मेलबर्न । केही समय अघि अष्ट्रेलियाको सिड्नीमा समुद्रमा डुबेर निधन भएका झापाका सुदीप उप्रेती र काठमाडौंकी श्रृष्टी भण्डारीको मंगलवार अन्त्येष्टि गरिदैछ ।

मृतक दुवैको शव सोमवार नेपाल ल्याइपुर्याइएको थियो । उप्रेतीको झापा र भण्डारीको काठमाडौंमा अन्त्येष्टि गरिन लागेको हो । अष्ट्रेलियामा क्रियाशील विभिन्न नेपाली संघ संस्थाहरुको पहलमा आर्थिक संकलन गरि भण्डारी र उप्रेतीको शव स्वदेश ल्याइएको हो । अन्त्येष्टिका लागि अष्ट्रेलिया र विश्वभरबाट सहयोग गर्ने सबैलाई मृतकका परिवार स्रोतले धन्यवाद दिएका छन् ।

यसैबीच सिड्नीमा आयोजित एक कार्यक्रममा संकलित रकमको विवरण सार्वजनिक गरिएको छ । कार्यक्रममा गैरआवासीय नेपाली संघ ओसियाना संयोजक महेन्द्र लम्साल, अष्ट्रेलिया अध्यक्ष सुरेन्द्र सिग्देल, उपाध्यक्ष दिनेश पोखरेल, आईसीसी सदस्य बालचन्द्र भट्टराई, नेपाली जनसम्पर्क मञ्च अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा मृतक श्रृष्टी भण्डारीका छिमेकी राजन कँडेलले जम्मा १६ हजार ३४९ अष्ट्रेलियन डलर र ३४ सेन्ट रकम उठेको जानकारी दिनुभयो । जसमध्ये शव नेपाल पठाउन ६ हजार ५८० डलर लागेको श्रृष्टी भण्डारीको परिवारलाई ७ हजार ७५४ अष्ट्रेलियन डलर र ३४ सेन्ट पठाइएको उहाँले बताउँनुभयो ।

कार्यक्रममा उठेको रकममध्ये २ हजार डलर भने गैरआवासीय नेपाली संघको लोककल्याणकारी कोषमा जम्मा गर्ने गरि संघलाई बुझाइएको थियो ।

अध्यक्ष सुरेन्द्र सिग्देलले अष्ट्रेलियामा नेपालीहरुलाई दुःख पर्दा सबै नेपाली खुला हृदयले सहयोगमा जुट्ने गरेको बताउँदै उठेको रकममध्ये खर्च गरेर बचेको रकम एनआरएनको लोकल्याणकारी कोषमा जम्मा गरिनु राम्रो सुरुवात भएको उल्लेख गर्नुभयो ।

Comments