काठमाडौ। म्यानचेस्टर युनाइटेड, बार्सिलोना तथा नेदरल्याण्डसका पूर्व प्रशिक्षक लुइस भान गालले सन्यासको घोषणा गरेका छन् ।

भान गालले अब कुनै पनि क्लब तथा राष्ट्रिय टिमको प्रशिक्षकको भूमिकामा नरहने गरी सन्यासको घोषणा गरेका हुन् । उनी २६ वर्षदेखि विभिन्न क्लब तथा राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा कार्यरत थिए । भान गालले गएको वर्षको मेमा म्यानचेस्टर युनाइटेडलाई एफए कपको उपाधि दिलाएका थिए । आफ्नो प्रशिक्षणमा टिमलाई एफए कपको उपाधि दिलाएको केही घण्टापछि नै उनलाई म्यानचेस्टर युनाइटेडले बर्खास्त गरेको थियो । त्यसयता उनी काम बिहीन थिए । फुटबलमा पुर्‍याएको योगदानको करद गर्दै नेदरल्याण्डस सरकारले सोमबार उनलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो । उनले त्यसलगतै सन्यासको घोषणा गरेका हुन् । भान गाल अजाक्स, बार्यन म्युनिख तथा एजेडको पनि प्रशिक्षक बनेका  थिए ।

६५ वर्षका भान गालले पारिवारिक कारणले सन्यासको घोषणा गरेको बताएका छन् । म्यानचेस्टर युनाइटेडलाई एफए कपको उपाधि दिलाएका गालले अजाक्सलाई च्याम्पियन्स लिग र युइएफए कपको उपाधि दिलाएका छन् ।

यस्तै अजाक्सलाई तीन पटक, बार्सिलोनालाई दुई पटक, एजेड र बार्यन म्युनिखलाई एक एक पटक राष्ट्रिय लिगको उपाधि गालले आफ्नो प्रशिक्षणमा दिलाएका छन् ।

Comments