–अर्जुन दाहाल

ऊ बसिरहेको छ ,
निस्तेज ,
निष्क्रिय ,
र निर्बिरोध
तर किन ?
ऊ सँग मात्र प्रश्न छ , तर उत्तरहीन !
………………………….
उसले कलम समाएको छ ,
कापी पल्टाएको छ ,
लेख्न प्रयास गर्छ,तर असफल
कलम टोक्छ,एकछिन सोच्छ ,
तर फेरि पनि असफल ।
ऊ सम्झन्छ तिमीलाई ,
ती इतिहासका पानाहरु,
ती सुनौला दिनहरू,तिमीले कुँदेका
उ मुसुक्क मुस्काउँछ,
मनैमनले सोच्छ, “ कविता त लेख्नै पर्छ “
उसको प्रयास जारी छ ।
………………………..
ऊ अडकिएको छ
ऊ आत्तिएको छ
जादु अवश्य तिम्रो,
तर उ मात्तिएको छ ।
उ मोबाईल टिप्छ र मेसेज पठाउँछ तिमीलाई,
पुलुक्क, ऊ आफ्नो मोबाईल हेर्छ
पुलुक्क,ऊ आफ्नो कापी हेर्छ,
पुकुक्क, ऊ आफूले टोकिरहेको कलम हेर्छ ।
टिङटिङ ! मोबाइलमा रिङटोन सुन्छ,
जय होस रिङटोन देवी,
ऊ मोबाईल टिप्छ
र खोल्छ आफ्नो इन्बक्स
लौ खत्तम !
उसले टेलिकमको जनाउ घण्टी पाएको छ ।
………………….
उ फन्किएको छ,
उ सन्किएको छ,
मोबाइलको ब्यालेन्सले आलु खाँदा ,
अहिले ऊ रन्किएको छ ।
केहि आशा, केहि सपना
केहि अविस्मरणीय यादहरु ,
र असंख्य शब्द ,
ऊ प्रयासरत छ,कविता कोर्न ।
ऊ आँखा चिन्लन्छ ,
फेरि खोल्छ ,
फेरि चिम्लन्छ ,
फेरि खोल्छ ।
तेर्सिएको कलम समाउँछ,
केर्दै,मेट्दै ,
पुनःलेख्दै, पुनः केर्दै
सफल या असफल,उसैलाई थाहा होला ,
तिम्रो नाम छ गुन्जायमान
र, उसको कलमले पाना भर्दैछ ।
……………………………..
फेसबुकको तिम्रो स्ट्याटस र फोटो हेरेर मख्ख पर्ने,
ऊ तिम्रो दर्शक हो ।
तिम्रो हरेक पाइला र बोलीमा ध्यान राख्ने,
ऊ तिम्रो बिचारक हो ।
तिमीमाथि कुदृष्टि राख्ने सज्जनसँग फाइट खेल्ने ,
ऊ तिम्रो ट्यापे हो ।
आफ्नो विषय भन्दा, तम्रो नाम लेख्न पोख्त ,
ऊ तिम्रो चित्रकार हो ।
हावा र उडन्ते कुराले तिमीलाई हँसाउन सक्ने ,
ऊ तिम्रो जोक्कर हो ।
तिम्रो समीप पर्न जे गर्न सक्ने ,
ऊ तिम्रो मल्टिस्टार हो ।
मोबाईल र बाटो , दुवैमा तिम्रो प्रतीक्षा गर्ने ,
ऊ तिम्रो पाले हो ।
वास्तविक परिचय के हो उसको ?
सायद तिमीलाई थाहा होला ,
तर तिम्रो प्रेमले बिरामी भएको,
ऊ एक मनोबैज्ञानिक रोगी हो ।

Comments