काठमाडौं । ज्वलनशील र विस्फोटक वस्तुको उपयोग वर्षेनी तिहारदेखि छठसम्म हुने गरेको छ । उल्लास थप्न उपयोग गरिने यस्ता वस्तुलाई सुरक्षित रूपले प्रयोग नगर्दा दुर्घटना मात्र निम्तिने होइन स्वास्थ्य बिग्रिने र ज्यानसम्म जाने गरेका घटना प्रशस्त छन् । सुरक्षित र स्वस्थकर दिपावली, तिहार, छठ मनाउनका लागि खानपानमा मात्र सन्तुलन नबनाई पटका प्रयोगमा समेत विशेष सावधानी आवश्यक रहेको विशेषज्ञहरू औँल्याउँछन् ।

पटकाजस्ता विस्फोटक पदार्थ उपयोग गर्दा स्वस्थ व्यक्तिले त विशेष सावधानी अपनाउनुपर्छ भने, दीर्घरोगी, बिरामी, बूढापाका, बालबालिकाले यस्तो काममा झन् बढी सचेत हुनुपर्छ । पाको उमेरका बिरामीलाई पटकाहरूबाट बढी खतरा हुन्छ ।

दम, मधुमेह र मुटुसम्बन्धी समस्या भएका, बूढापाका र बालबालिकाका लागि पटकाको आवाज र धुँवा झन् बढी जोखिमपूर्ण हुने विशेषज्ञहरु बताउँछन् । सामान्य व्यक्तिको दाँजोमा उनीहरूमा पटकाबाट हुने समस्या गुणात्मक हुन्छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

पटकाबाट निस्किने सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइडजस्ता विषाक्त ग्यास र लेडजस्ता कणले गर्दा दम र मुटु रोगीको समस्या थुप्रै गुणा बढ्छ । पटका लगायतबाट निस्किने विषाक्त ग्यास, सिसाजस्ता कणहरूले गर्दा दम र एलर्जीले पीडित व्यक्तिहरूको सासनली खुम्चिन्छ र उनीहरूले पर्याप्त अक्सिजन पाउन सक्दैनन् । फोक्सोसँगै मुटुसम्बन्धी समस्यासमेत भएकाहरूका लागि तिहारमा थप सावधानी आवश्यक हुन्छ । पटकाबाट अचानक निस्किने तीव्र आवाजले मुटुको धड्कनसम्बन्धी रोग भएकाहरूको समस्या झन् बढाउन सक्ने मुटु रोग विशेषज्ञहरु बताउँछन् । पटकामा विस्फोटको स्वरले मात्र नभएर यसबाट निस्किने विभिन्न विषाक्त ग्यास, रसायन, प्रदूषण र सूक्ष्म कणहरूले मुटुको रक्तनलीमा अवरोध भएका वा हृदयाघात भएकाहरूमा अचानक समस्या उत्पन्न हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

त्यसै गरि वर्षेनी तिहारताका पटकाले आँखामा चोटपटक लागेर अस्पताल पुग्नेहरूको संख्या पनि कम छैन । यस्तै पटकाको तीव्र आवाजले कान दुख्ने, कान कराउने, रिंगटा लाग्ने, जस्ता समस्या देखिने र सुन्ने शक्तिमा कमि आउनसक्छ ।

त्यसैले चाडपर्वमा रमाईलो गर्ने नाममा पटका कारण हात, अनुहार र जिउमा चोट लागेर अस्पताल पुग्नु भन्दा यसप्रति बेलैमा सबै सचेत हुनु बुद्दिमानी हुन्छ ।

Comments