काठमाडौं । दशैंपछि काठमाडौं उपत्यकामा साझा बस राति ११ बजेसम्म चल्ने भएको छ ।

हाल बिहान ६ बजेदेखि बेलुकी नौ बजेसम्म सेवा दिँदै आएको साझा बस दुई घण्टा बढी चल्ने भएको हो । दसैंपछि सञ्चालन हुने बसले बिहान ६ बजेदेखि बेलुकी ११ बजेसम्म सेवा दिने छ ।

गत वर्ष महानगरपालिकाका र साझा यातायातकाबीच रात्रिकालिन सुविधा दिनेबारे सम्झौता भएको थियो । साझाले थपेको नयाँ बसमा २५ वटा समाउने ‘ह्याण्ड स्ट्रिप’ छन् । गुणस्तरीय हुने सबै गाडीहरु ४० सिट क्षमताका छन् । यो बसमा सिटमा बसेर र उभिएर एकैपटकमा करिब सय जना यात्रुले यात्रा गर्न सक्ने बताइएको छ ।

यसैबीच साझा यातायातले थानकोटदेखि सूर्य्विनायक र बुढानिलकण्ठदेखि गोदावरीसम्मको दुई रुटमा सेवा दिने भएको छ । साझाले ल्याएको ३० नयाँ बसको यो मात्रै नयाँ रुट हुनेछ भने बाँकी संचालनमा रहेका रुटमा बस थपिनेछन् ।

थपिएका नयाँ बस काठमाडौं महानगरपालिका र साझा यातायातको सहकार्यमा संचालनमा आउन लागेको हो । थानकोटदेखि सुर्यविनायक र बुढानिलकण्ठदेखि गोदावरीसम्म दुईवटा रुटमा नयाँ गाडीहरु सञ्चालन गर्न प्रस्ताव गरेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

Comments