काठमाडौं । खेलकूदमन्त्री दलजित श्रीपाइली शुक्रवार निकै व्यस्त हुनुहुन्थ्यो । निधारबाट बगिरहेको पसीनाको धाराले मिहिनेत कति कडा थियो भन्ने झल्को दिइरहेको थियो ।

भूकम्पपछि देशकै एक मात्र केन्द्रीय रंगशालाको हरिविजोग भएको समाचार सार्वजनिक भएसँगै चौतर्फी दवावमा पर्नुभएका युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली शुक्रवार आफैं रंगशाला सरसफाई कार्यक्रममा खट्नुभएको हो । बुधबार नै राखेपलाई १० दिनभित्र रंगशालाको लथालिङ्ग अवस्था सुधार्न निर्देशन दिनुभएका उहाँले बिहीबार आफ्नो फेसबुक पेजमा शुक्रबार रंगशालाको लागि जुट्न आग्रह गर्नुभएको थियो ।

त्यही बमोजिम शुक्रबार विहान ७ बजे नेकपा माओेवादी केन्द्रका विभिन्न भातृ संगठनसहित रंगशालाको सफाई सुरु भएको थियो । सफाई कार्यक्रममा मन्त्री श्रीपाइली रमिते मात्र बन्नुभएन,आफैं अघि सर्नुभयोे । हातमा हँसिया लिएर काँडा फाँड्न थाल्नुभयो । उहाँलाई धुलो र सानातिना काँडाको प्रवाह थिएन । मन्त्री श्रीपाइलीले २ घण्टा निरन्तर पसिना बगाउनुभयो । कतिसम्म भने अरुले घिन मानेको शौचालय पनि मन्त्री आफैंले सफा गर्नुभयो । मन्त्रीको सक्रियताले सफाईमा जुटेका सयौं स्वयंसेवकले पनि जाँगर चलाएर काम गरे ।

सयौंजना एकैसाथ जुट्दा एकैछिनमा रंगशालाको प्याराफिटका झाडी सफा भयो, खाल्डा वरपरका ईंट्टा व्यवस्थित भए । धुलोमाटो सफा भयो । झाडीले हरियो भएको रंगशाला एकैछिनमा रंगिबिरंगी देखियो ।

आफ्नो पहलमा एकैछिनमा रंगशालाको मुहार फेरिएको देखेर मन्त्री दंग हुनुहुन्थ्यो । असिनपसिन भएका मन्त्रीले फुटबल मैदानमा घाँस काट्ने मेसिन चलाएर मैदानको केही घाँस पनि काट्नुभयो ।

देशको इज्जत र सभ्यतासँग जोडिएको रंगशालाको त आफूले यति छिट्टै मोटामोटी सफाई गर्न सकेपनि खेल क्षेत्रमा व्याप्त फोहोरीपनको सफाईका लागि भने केही समय लाग्ने मन्त्री श्रीपाइलीले बताउँनुभयो ।

पसिनाले भिजेको अनुहारमा जोश थप्दै मन्त्री श्रीपाइलीले भन्नुभयो, ‘दशरथ रंगशालाको बाहिरी फोहोर त हामीले सफा र्गयौं, तर यहाँ त पुरै खेल क्षेत्रकै सफाई गर्नुपर्ने रहेछ, त्यसको लागि छिट्टै केही कदम चाल्नेछु ।’ मन्त्रीको बोलीमा नेपाली खेलकुदको क्षेत्रमा केही गर्छु भन्ने जोश थियो । उहाँको जोशबाट रंगशालामा पुगेका खेलाडी र अरु खेलप्रेमी पनि उत्साहित थिए ।

Comments