काठमाडौं । जित्नैपर्ने दबाबकाबीच आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले सोमबार नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्दैछ ।

दिउँसो पौने ३ बजे नेदरल्याण्ड्को एमस्टलभिनमा हुने खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । नेदरल्याण्डससँग शनिबार भएको पहिलो खेल हारेपछि नेपाललाई यो खेल जित्नैपर्ने दबाब बढेको हो । अंक तालिकाको छैठौं स्थानमा रहेको नेपाललाई सन् २०१८ को एक दिवसीय विश्वकपको छनौट खेल्ने आशा जिवितै राख्न पनि यो खेल महत्वपुर्ण छ । शीर्ष चारमा पर्ने टोलीले मात्र विश्वकपको छनौट खेल्न पाउने छन् ।

प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलका ७ खेलमा पाँच खेल जितेको नेदरल्याण्ड्स १२ अंकसहित शीर्ष स्थानमा छ । ७ खेलमा पाँच खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ ।

नेपाल भन्दा अघि समान ९–९ अंक जोडेका हङकङ र स्कटल्याण्ड तथा ८ अंक जोडेको पपुवा न्युगिनी र ६ अंक जोडेको केन्या छन् । नेपाल यसअघि स्कटल्याण्ड र पपुवा न्युगिनीसँग भएका खेलमा पराजित भएको थियो । तर काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।

नेदरल्याण्डस्सँगको पहिलो खेलमा सात विकेटले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा दुई सय रन भन्दा माथिको स्कोर बनाउने लक्ष्य लिएको प्रशिक्षक जगत टमाटाले बताएका छन् ।

Comments