काठमाडौँ । अन्ततः लामो विवाद र अन्योलतापछि नेविसंघको निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ ।

महाधिवेशन सम्पन्न गराउनको लागि बनेको केन्द्रीय निर्देशन समितिले उपलब्ध गराएको नामावली विद्यार्थी संघको केन्द्रीय निर्वाचन समितिले शनिबार राती सार्वजनिक गरेको हो । योसँगै निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।

प्रतिनिधिहरुमा नाम समावेश भएकाहरुलाई आइतबार विहान ९ बजेदेखि मतदाता परिचयपत्र, झोलालगायतका सामाग्रीहरु पार्टीको केन्द्रीय कार्यालय, सानेपाबाट वितरण गरिने कार्यक्रम रहेको छ ।

महाधिवेशन प्रतिनिधिहरुले परिचयपत्र लगायतका सामाग्रीहरु बुझ्न पार्टी कार्यालय जाँदा आ–आफ्नो नागरिकताको प्रमाणपत्र, निर्वाचन आयोगद्वारा जारी गरिएको मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्र मध्ये कुनै एकको साथमा संघको महाधिवेशन प्रतिनिधिको मतदाता नामावलीको क्रमसंख्या सहित सम्पर्क राख्नुपर्ने व्यवस्था मिलाइएको छ ।

केन्द्रीय निर्वाचन समितिले देशभरका ३७६० जना प्रनितिनिधिको नामावली सार्वजनिक गरेको हो । सबै चुनावी प्रक्रिया पार्टी कार्यालय सानेपामा हुनेछ ।

यस्तो छ निर्वाचन तालिका

परिचयपत्र , झोलालगायतका सामग्री वितरणपछि आइतबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म मनोनयन दर्ता कार्यक्रम राखिएको छ ।

त्यसपछि बेलुकी ७ बजे उम्मेद्वारको नामवली प्रकाशन गरिने छ भने साउन ३१ गते विहान १० बजेदेखि १०ः ३० बजेसम्म उम्मेद्वारी सच्याउने समय प्रदान गरिने छ भने त्यसपछि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यस्तै उम्मेदवारको मनोनयन पत्रमा दावी विरोधका लागि सोहि दिन दिउँसो १२ः३० बजेदेखि ३ः३० बजेसम्मको समय तोकिएको छ ।यस्तै कसैले उम्मेदवारीको नाम फिर्ता लिन चाहे सोहि दिनको १ः३० बजेदेखि ५ः३० वजेसम्मको समय तोकिएको छ ।

त्यसपछि भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साउन मंगलबार विहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म मतदान हुने छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने छ ।

Comments