काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्रालयमा पठाउँने मन्त्रीहरुको टुङ्गो लगाएको छ । माओवादीले नयाँ अनुहारलाई प्राथमिकतामा राखेर मन्त्रीहरुको नाम तय गरेको बताइएको छ ।

स्रोतका अनुसार जर्नादन शर्मा उर्जा, हितराज पाण्डे स्थानीय विकास, डिआर पौडेल शिक्षा, राम कार्की सञ्चार, प्रभु शाह कानुन मन्त्री बन्ने छन् ।

तर माओवादीले महिला तथा बालबालिका मन्त्रालय लिने भए सीता नेपालीलाई चयन गरिने माओवादी स्रोतले बतायो । महिला मन्त्रालय माओवादीले लिए सञ्चार मन्त्रालय भने गुम्नेछ । त्यसो भयो भने राम कार्की मन्त्री नहुन सक्ने स्रोतले बतायो ।

पाण्डेलाई स्थानीय विकास मन्त्रालय र कानुनमध्ये एक रोज्न भनिए पनि उनले शिक्षा मन्त्रालयमा रुचि देखाएका थिए । कार्कीले परराष्ट्रमन्त्रीमा मन गरे पनि सो मन्त्रालय माओवादीको भागमा परेको छैन । त्यसैले कार्की सञ्चार मन्त्री बन्ने सम्भावना रहेको छ।

परराष्ट्र मन्त्री भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका लागि राख्न काँग्रेस–माओवादी गठबन्धन तयार रहेको स्रोत बताउँछ । काँग्रेसमा शेखर कोइरला र माओवादीमा कार्कीले परराष्ट्र मन्त्रालय नपाउनुको कारण उपेन्द्रकै लागि राखिएको स्रोतको दाबी छ ।

Comments