काठमाडौं । विगत २४ घण्टादेखि नेपाल टेलिकमको ‘एनटी रिचार्ज’ कार्डमा देखिएको समस्या अझै यथावत छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यका अनुसार आधा घण्टाको सफ्टवेयर अपटेडको काम सफल नहुँदा ३४ घण्टादेखि रिचार्जमा समस्या देखिएको हो । आइतवार अपरान्ह मात्र समस्या समाधान हुने उहाँले बताउँनुभयो ।

आइतवार अपरान्हसम्म पनि सेवा सुविधा उपलब्ध गराउन नसकेमा आफ्ना ग्राहकका लागि कुनै अर्को विकल्पका सुविधा ल्याउने आचार्यले बताउँनुभयो ।

शनिबार बिहानैबाटै ‘भोएएमएस सिस्टम’को भौचर म्यानेजमेन्ट रिचार्ज कार्ड पुरानो भएको भन्दै क्षमता वृद्धिका लागि सानो सफ्टवेयर अपडेटको काम थालेको थियो । धेरै समय परीक्षण गरिएको सफ्टवेयर अकस्मात सफल हुन नसकेपछि फेरि पुरानै सिस्टममा रोलब्याक हुन खोज्दा सो सिस्टमले काम नगर्दा समस्या लम्बियोको उहाँले बताउँनुभयो ।

उहाँका अनुसार १ करोड ४७ लाख भन्दा बढी ग्राहकको नम्बर अपडेट गर्दा समय लागेको हो ।

एक दुई घण्टा समस्या आउनासाथ ग्राहकका लागि क्रेडिटबाट कल गर्ने सुविधा प्रदान गर्न चाहँदा चाहँदै पनि डाटा अपडेटको समस्याले गर्दा दिन नसकेको आचार्यले बताउँनुभयो ।

तर एमपीओएस प्रविधिबाट रिचार्ज गर्न र ‘नमस्ते’ कार्डको प्रयोग गर्न पनि कुनै समस्या नरहेको उहाँले बताउँनुभयो । एनटी रिचार्ज कार्ड स्काई प्रिपेड फोनमा समेत प्रयोग गर्न सकिन्छ।

Comments