काठमाडौं । नेपाल विद्यार्थीसंघको ११ औं महाधिवेशन आइतवारबाट राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

२५ साउन सम्म चल्ने महाधिवेशनको कांग्रेस सभापति शेरबाहदुर देउवाले १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशन स्थलमा विहानैबाट सवारी साधान प्रवेशमा रोक लगाइएको छ ।

नेविसंघमा एक अध्यक्ष, १३ उपाध्यक्ष, दुई महामन्त्री, १६ सहमहामन्त्री र निर्वा्चित एक कोषध्यक्षसहित केन्द्रीय कार्यसमिति एक सय ५१ सदस्यीय हुने छ ।

दश वर्षपछि महाधिवेशनमा उत्रिएको नेविसंघमा चुनावी सरगर्मी छाएको छ । लामो समय अधिवेशन नभएका कारण अध्यक्ष लगायतका पदहरुमा उमेदवारको संख्या धेरै देखिएकोछ । पार्टी गुट र नेताका नजिकका पनि एक भन्दा बढी भएकाले मिलाउन समस्या देखिएको छ ।

माउ पार्टीका सभापति शेरबहादुर देउवाको पक्षबाट जितजंग बस्नेत र नैनसिंह महर प्रमुख दाबेदार रहेका छन् । उनीहरुसँगै रत्न कार्की, सरोज थापा र राजीव ढुंगानाले समेत अध्यक्षेको दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

नेता रामचन्द्र पौडेलको तर्फबाट मनोजमणि आचार्य र दीपक भट्टराई प्रमुख दावेदार रहेका छन् । सोही पक्षमा आनन्द त्रिपाठी र नीलकण्ठ रिजालले पनि दाबी प्रस्तुत गरेका छन् । त्यस्तै कुन्दनराज काफ्ले र शुभराम बस्नेतपनि अध्यक्षको दाबेदार हुन् ।

Comments