काठमाडौं । नेपाली भूमिभित्र छिरेर बालुवा तस्करी गर्ने कार्यमा संलग्न भारतीय तस्करको आक्रमणमा नेपाली सुरक्षाकर्मी घाइते भएका छन् ।

भारतीयको कुटाइबाट पर्साको भीखमपुरमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरी जवान रत्नेस साह घाइते भएका हुन् ।

भारतीयको कुटाईबाट सशस्त्र प्रहरी साहको हातमा गम्भीर चोट लागेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले घाइते सशस्त्र प्रहरी जवान साहको घाउ लागेको हातमा तीनवटा टाँका लगाइएको बताउँनुभयो । उहाँको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको बताउँनुभयो । कुटाइबाट सशस्त्र प्रहरी साहको देब्रे हातमा तीनवटा टाँका लगाउनु परेको उपरीक्षक थापाले जानकारी दिनुभयो

नेपाल भारत सीमाभन्दा दुईसय ५० मिटरभित्र नेपालमा पर्ने ओरिया खोलाबाट ५०–६० जनाको सङ्ख्यामा रहेका भारतीयले छवटा ट्र्याक्टरमा बालुवा लोड गरिरहेका बेला सुरक्षाकर्मीले रोक्न खोज्दा भारतीयले आक्रमण गरेको उपरीक्षक थापाले बताउँनुभयो ।

खोलाबाट भारतीयले बालुवा उत्खनन गरेको स्थानीय नेपालीले जानकारी गराएपछि नेपाली सुरक्षाकर्मीको टोली त्यहाँ पुगेको थियो ।

Comments