काठमाडौं । अफ्गानिस्तानको राजधानी काबुलमा शनिवार अपराह्न भएको शक्तिशाली बम विस्फोटमा परि कम्तिमा पनि ६० जनाको ज्यान गएको छ । घटनामा १ सय ६० जना भन्दा बढी घाईते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काबुलको देह माजाङमा हजारा समुदायले प्रदर्शन गरिरहेको स्थानमा बम विस्फोट गराइएको बीबीसीले जनाएको छ । प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरुको सहभागिता रहेको बताइएको छ । आक्रमणमा तीन जना आक्रमणकारीको संलग्नता रहेको बताइएको छ । एक जना आक्रमणकारीले आत्मघाती बम विस्फोट गराएको र एक जना विस्फोट गराउन असफल भएको र अर्का एक जनालाई प्रहरीको कारवाहीमा मारिएको प्रहरीले जनाएको छ ।

घटनाको जिम्मेवारी चरमपन्थी समुह स्लामिक स्टेट आइएसले लिएको भएपनि यसको पुष्टि हुन सकेको छैन । यसैवीच अफ्गानिस्तानका रास्ट्रपति असरफ घानीले घटनाको निन्दा गरेका छन् । शान्तिपूर्ण रुपमा प्रदर्शन गरीरहेकाहरुमाथि आक्रमण हुनु कायरताको पराकाष्टा रहेको बताएका छन् । साथै उनले सुरक्षाकर्मीको भेषमा आक्रमणकारीहरु भीडमा पसेको हुन सक्ने तर्फ सचेत गराएका छन् ।

हजारा समुदायले विद्युत सप्लाईको नयाँ लाईनलाई उनीहरुको प्रान्तबाट हटाउने सरकारको निर्णयविरुद्ध प्रदर्शन गरेको बताइएको छ । हजारा समुदायका मानिसहरु कथित भेदभावका कारण विभिन्न हिंसाको शिकार बन्दै आएका छन् ।

Comments