मेलबर्न । तीन दशकदेखि निरन्तर रुपमा नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै आउँनुभएका अभिनेत्री करिश्मा मानन्धर अष्ट्रेलियामा सम्मानित हुनुभएको छ ।

आइतवार सिड्नीमा आयोजित तीज विशेष कार्यक्रममा अभिनेत्री मानन्धरलाई अष्ट्रेलियावासी नेपाली दर्शकहरुको तर्फबाट सम्मानपत्रबाट सम्मानित गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि एनआरएन प्रवक्ता रञ्जु वाग्लेले फिल्मी करिअरको ३० औं वसन्त पार गरेको अवसरमा अभिनेत्री करिश्मालाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा सदाबहार अभिनेत्री करिश्मा मानन्धरको तीन दशक लामो चलचित्र यात्रालाई समेटिएको भिडियो देखाइएको थियो ।

सम्मान ग्रहण गर्दैै अभिनेत्री मानन्धरले सिड्नीमा पाएको न्यानो आतिथ्य र सम्मानले आफुलाई अझै यो क्षेत्रमा केही गर्ने ऊर्जा प्राप्त भएको बताउँनुभयो ।

कार्यक्रममा अभिनेत्री करिश्माले विशेष नृत्य प्रस्तुति समेत प्रस्तुत गर्नुभएको थियो भने अर्का अतिथि कलाकार गायिका मेलिना राईले गीत प्रस्तुत गर्नुभएको थियो । साथमा स्थानीय कलाकारहरुले पनि आ आफ्नो प्रस्तुति राखेका थिए । तीज सेलेब्रेसन कार्यक्रम हेर्न करिब ८ सय दर्शकहरुको उपस्थिति रहेको थियो ।

नेपाली टच र नेपमार्टले संयुक्त रुपमा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

Comments