काठमाडौं । सरकारले अफगानिस्तानसहितका चार देशमा वैदेशिक रोजगारीमा जान प्रतिवन्ध लगाएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि अफगानिस्तान, इराक सिरिया र लिबियाका लागि श्रम स्वीकृति स्थगित गर्ने निर्णय गरेको हो ।

अफगानिस्तानको राजधानी काबुल विस्फोटमा १३ नेपालीको मृत्यु भएपछि सरकारले यो कदम चालेको हो । बैठकले काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ । मन्त्रीपरिषद वैठकले आक्रमणका घाइतेहरुको पूर्ण उपचारको व्यवस्था पनि सरकारले नै गर्ने निर्णय गरेको छ । साथै काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको वैठकले लगानी बोर्डको निर्देशकमा नेपाल राष्ट्र बैंकका निवर्तमान डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
यस्तै वैठकले दुई जना भारतीय नागरिकले लिएको नेपाली नागरिकता रद्द गर्ने निर्णय पनि गरेको छ ।

Comments