मेलवर्न ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित भएको छ ।

देशको वर्तमान राजनीतिक सन्दर्भ र पार्टी कामको चापलाई मध्यनजर राखी अध्यक्ष दाहालले अष्ट्रेलियाका लागि पूर्व निर्धारित भ्रमण कार्यक्रम स्थगित गरिएको उहाँको निजी सचिवालयले जनाएको छ ।

नेकपा माओबादी केन्द्रको भातृ संगठन नेपाली जनप्रगतीशिल मञ्चको तेस्रो अधिवेशनको कार्यक्रममा सहभागी हुन प्रचण्ड अष्ट्रेलिया आउने कार्यक्रम थियो ।

माओवादी अध्यक्ष प्रचण्ड बुधबार मध्यान्ह १२ बजे अष्ट्रेलिया भ्रमणमा आउने  कार्यक्रम थियो । अष्ट्रेलिया जानुभन्दा केहि घण्टा अघि मात्रै प्रचण्डले भ्रमण स्थगित गर्नुभएको हो ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विशेष राजनीतिक परिस्थितिका कारण अष्ट्रेलिया नजान भनेकाले भ्रमण स्थगित गरिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

उहाँ विहीवार मेलवर्नमा आयोजना हुने एउटा अन्तक्र्रिया कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो । यस्तै शनिवार हुने नेपाली जनप्रगतीशिल मञ्चको तेस्रो अधिवेशन उद्घाटनका लागि शुक्रवार सिड्नी जानुहुने कार्यक्रम तय भएको थियो ।

prachandअष्ट्रेलिया भ्रमणका वेला प्रचण्डले स्थानीय राजनीतिक दलका नेता र विभिन्न मुलुकमा राजदुतहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम पनि तय भएको थियो । मञ्चले भ्रमणका क्रममा प्रचण्डलाई यहाँको स्थानीय कृषि फार्म , बिकास निर्माण, सार्वजनिक रेल तथा बसमा यात्रा गराएर यहाँको विकासको पूर्वाधारका विषयमा समेत प्रत्यक्ष अवलोकन गराउने योजना समेत बनाएको थियो ।

अध्यक्ष प्रचण्डले अचानक भ्रमण स्थगित गर्नुभएपछि विभिन्न आंकलनहरु गर्न थालिएको छ । विशेष प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढालेर सरकार आफ्नो हातमा लिने योजनाबारे गोप्य तयारीका लागि प्रचण्ड अष्ट्रेलिया आउँन लागेको खबर सार्वजनिक भएपछि अष्ट्रेलियाका मात्र होइन नेपाली राजनीतिक क्षेत्र नै तरंगित बनेको थियो ।

स्रोतका अनुसार प्रचण्डसँग गोप्य वार्ता गर्न केही विशिष्ट भारतीय दूतहरु अष्ट्रेलिया आउँने तय भएको थियो । तर गोप्य भनिएको यो वार्ताबारे मिडियामा पहिले नै खबर आएपछि प्रचण्ड र नेकपा माओवादी केन्द्रलाई दबाब परेको स्रोतको दाबी छ ।

Comments