एजेन्सी । उत्तर कोरियाले मध्यम दूरीका दुई वटा मिसाइल परीक्षण गरेको छ ।

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद मध्यम दूरीका दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । दुई वटै शक्तिशाली मुसुडन मिसाइल रहेको दक्षिण कोरियाका सैन्य अधिकारीले बताएका छन् । तर पहिलो मिसाइलको परीक्षण भने असफल भएको थियो ।

दोस्रो पनि सफल भए नभएको बारेमा विश्लेषण भइरहेको छ । राष्ट्रसंघले उत्तर कोरियालाई कुनै पनि ब्यालेस्टिक मिसाइल प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

राष्ट्रसंघले परमाणु हतियार कार्यक्रमका कारण उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको हो । उत्तर कोरियाले पछिल्लो दुई महिनामा अरु चार वटा मिसाइल परीक्षण गरेको थियो ।

जापानका प्रधानमन्त्री सिन्जु आवेले उत्तर कोरियाले पछिल्लो पटक परीक्षण गरेको मिसाइल ब्यालेस्टिक रहेको प्रमाणित भएमा सहन नसकिने बताउनुभएको छ ।

उत्तर कोरियाले परीक्षण गरेका दुई मिसाइलले तीन हजार किलोमिटरसम्म मार हान्न सक्ने जनाइएको छ । यसको अर्थ ती मिसाइलले दक्षिण कोरिया, जापान तथा अमेरिकासम्म मार हान्न सक्ने छन् ।

Comments