काठमाडौं । सोमबार बिहान अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी आक्रमणमा परी मृत्यु भएका दुई जना भारतीय भएको खुलेको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले १४ जना नै नेपाली नागरिक रहेको बताए पनि पछि मृतक मध्ये १२ जना मात्र नेपाली भएको खुलेको थियो । यसबारेमा सोमबार अपरान्ह नेपालको परराष्ट्र मन्त्रालयले औपचारिकरुपमा पत्रकार सम्मेलन आयोजना गरेर घटनामा १२ जना नेपालीको मृत्यु भएको बताएको थियो । पहिचान खुल्न बाँकी दुई जना भने को थिए ? भन्ने अन्यौल थियो ।

तर सोमबार राति अन्य दुई मृतकहरु भारतीय नागरिक रहेको क्यानेडिन दूताबासले स्पष्ट पारेको छ ।

अफगानिस्तानका लागि क्यानेडियाली राजदूत डेबोरा ए लियोन्सले सोमबार राति जारी गरेको विज्ञप्तिमा १२ नेपाली र दुई भारतीयको मृत्यु भएको जनाएका छन् । उनले ६ जना नेपालीसहित केही व्यक्तिहरु घाइते रहेको र उनीहरुको उपचार भइरहेको उल्लेख गरेका छन् ।

भारतीय विदेश मन्त्रालयले समेत काबुलमा मारिएका दूई जना भारतीय नागरिक रहेको पुष्टि गरेको छ ।

मृत्यु हुने भारतीय नागरिकमध्ये एकजना नेपाली मूलका छन् । उनी देहरादूनका गणेश थापा हुन् । यस्तै अर्का मृतक देहरादूनकै गोविन्द सिंह रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

Comments