काठमाडौँ । मुलुकमा सबैभन्दा बढी अर्थमन्त्री हुने भाग्यवानी नेतामा पर्छन्, कांग्रेस नेता रामशरण महत । खुला अर्थतन्त्रका हिमायती मानिने महत कांग्रेसबाट ६ पटक मन्त्री भए ।

कांग्रेसमा महेश आचार्यपछि निरन्तर अर्थमन्त्री बन्ने अवसर पाए पनि महतले पार्टीभित्र भने कहिल्यै लोकप्रिय छवि बनाउन सकेनन् । ‘महतले खुला अर्थतन्त्रको नाममा समाजवाद उन्मुख कार्यक्रम दिन नसकेको पार्टीभित्रै आलोचना छ,’ महतको अर्थमन्त्री कालको अनुभव सुनाउँदै कांग्रेसका एक नेताको तिखो टिप्पणी छ, ‘उहाँले आफ्नो कार्यकालभर मुलुकको अर्थमन्त्री आफैंमात्रै भइराख्छु र आफ्नै ढुकुटीबाट रकम बाँड्नुपर्ने हो जस्तो व्यवहार देखाउनुभयो । जसका कारण पार्टीभित्र आलोचना हुने गरेको हो ।’

यतिखेर उनी अर्थमन्त्री छैनन् । तर, पार्टीभित्र उनै आलोचनाका प्रमुख पात्र बनिरहेका छन् । एमाले नेतृत्वको गठबन्धन सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटप्रति कांग्रेस नेताहरूको सैद्धान्तिक रूपमा विरोध छ । तर, वास्तविक विरोधको प्रहार भने पार्टीको पूर्ववर्ती सरकारका अर्थमन्त्री महतप्रति बढी लक्षित देखिएको छ ।

आइतबारको काग्रेस संसदीय दलको बैठकमा उनै महतप्रति धेरै सांसद खनिएका थिए ।

Comments