काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धि र विकासका तर्फ अगाडि बढेको भन्दै आफनो नेतृत्वको सरकारले गाँउगाँउमा लाखौँ जनतालाई चाँडै नै रोजगारी दिलाउने उदघोष गर्नुभएको छ ।

उहाँले अब नेपाल भन्ने देशलाई गरीबी नसुहाउने बताउदै देशैभर रोजगारी सृजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मङगलबार राजधानीमा आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल देशबाट नै गरीबी उखेलेर फ्यालिने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले भिन्न भिन्न धर्म तथा जातीयता र क्षेत्रका नाममा देश टुक्रयाउन संविधानमा जातीय राज्य हुनुपर्ने मागको कुनै अर्थ नभएको दाबी समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले ल्याएको प्रभावकारी नीति तथा कार्यक्रममा विपक्षी दलहरुको समेत विरोध गर्ने ठाँउ नराखेको दाबी गर्नुभयो । उँहाले पुननिर्माणका कामहरु थाल्ने योजना अन्तर्गत जेष्ठ ७ देखि २१ गते अर्थात १५ दिनसम्म पुनर्निर्माणका लागि गाँउगाउँमा स्वयंसेवीहरु खटाउने तयारी पूरा गरिएको जानकारी पनि दिनुभयो ।

प्रधानमन्त्री ओलीले देशलाई समृद्धितर्फ अगाडि बढाउने योजनास्वरुप चीनको सिगात्सेसम्म आएको रेललाई काठमाण्डौसम्म कुदाउने, स्वदेशी लगानीमा फास्ट ट्रयाक निर्माण गर्ने पनि प्रष्ट पार्नुभयो ।

Comments