काठमाडाौं । विभिन्न दलहरु सम्मिलित संघीय गठबन्धनले सोमवार पनि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार घेराउ गरेका छन् ।

बिहान १० बजेदेखि शुरु भएको घेराउ कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।

पहिचानसहितको संघीयता माग गर्दै उनीहरुले संविधानको विरोध गर्दै आइतवारदेखि सिंहदरवार घेराउ गरेका हुन् । अहिले माइतीघर, भद्रकाली, पुतलीसडक, अनामनगर र हनुमानस्थान लगायतका स्थानमा बसेर उनीहरुले सरकारविरुद्ध नारा लगाइरहेका छन् ।

आन्दोलनका कारण राजधानीबासीले भने सास्ती ब्यर्होनु परेको छ । आन्दोलनका कारण राजधानीको ट्राफिक व्यवस्था अस्तब्यस्त बनेको छ । आइतवार र सोमवार मात्र सिंहदरवार घेराउ गर्ने भनिएका उनीहरुले मंगलवार पनि सिंहदरबार घेराउ कार्यक्रम जारी राख्ने बताएका छन् ।

आन्दोलनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनमा सहभागी हुन उपत्यका बाहिरबाट आएका कार्यकर्तालाई नाकाबाटै फर्काइदिएको छ भने उपत्यकामा सशस्त्र र जनपथ गरी ३ हजार प्रहरी परिचालन गरिएको छ । तर प्रहरी अधिकारीलाई सयंमित भएर खट्न निर्देशन दिइएको बताइएको छ ।

उपत्यकाको अधिकांश ठाउँमा अहिले सवारी जाम छ। सिहंदरबार आसपास भएर चल्ने सवारी साधनको आवामगन यतिबेला पूर्ण रुपमा प्रभावित भएको छ।

पद्मोदय मोडबाट सिंहदरबारहुँदै माइतीघर जाने सवारी साधनलाई पद्मोदय मोडबाट रोकिएको छ। यस्तै तीनकुनेबाट नयाँबानेश्वर हुँदै माइतीघर आउने सवारी साधनलाई नयाँबानेश्वर चोकबाटै डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ। पद्मोदयबाट अनामनगर हुँदै हनुमास्थान तर्फ जाने सवारी साधनलाई बासँघारी मोडबाटै डाइभर्सन गरिएको छ।

यस्तै नयाँ बानेश्वर पानी ट्यांकीबाट थापागाउँ हुँदै हनुमानस्थन आउने सवारी साधनलाई नयाँ बानेश्वरबाटै डाइभर्सन गरिएको छ। कालीमाटीबाट त्रिपुरेश्वर हुँदै थापाथली आउने सवारी साधनलाई त्रिपुरेश्वरबाट डाइभर्सन गरिएको छ।

यस्तै कुपण्डोलबाट थापाथली, त्रिपुरेश्वर जाने सवारीलाई कुपण्डोलमै डाइभर्सन गरिएको छ।

Comments