काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति, प्रधामन्त्री, विभिन्न राजनीतिक दलका नेताले २०७३ लाई संविधान कार्यान्वयन, पुनर्निर्माण र विकासको वर्ष बनाउनुपर्नेमा जोड दिएका छन् ।

भूकम्प र नाकाबन्दीका कारण बितेको वर्ष २०७२ निराशजनक भएपनि नयाँ वर्ष २०७३ सबैका लागि सुखमय हुनेमा सबैले विश्वास गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७३ को अवसरमा शुभकामना व्यक्त गर्दै सबैमा सुख, शान्ति, सुवास्थ्य, दीर्घायु, सदभाव, एकता, प्रगति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

२०७२ मा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी हुनु सर्वोच्च उपलब्धी भएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले नयाँ संविधानको कार्यान्वयनमा जोड दिनुभएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले २०७३ सालमा नयाँ संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नयाँ वर्षको अवसरमा मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयन नै सरकारको मूल कार्यभार रहेको भन्दै तराई मधेसमा असन्तुष्ट सबै मोर्चा, दल र समूहलाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायत विभिन्न दलका शीर्ष नेताहरुले पनि नयाँ वर्षको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

Comments