काठमाडौं । नायिका रेखा थापाको नयाँ चलचित्र रामप्यारी शुक्रवारदेखि प्रदर्शनमा आएको छ । झण्डै एक वर्ष भन्दा बढी समयपछि रेखाको नयाँ चलचित्र आएको हो ।

रामप्यारी रेखाको आफ्नै निर्माणमा बनेको चलचित्र हो । शुक्रबारदेखि देशभरका चलचित्र भवनहरूमा एकसाथ प्रदर्शनमा आएको रामप्यारी पनि रेखाका दर्शकहरुका लागि बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको छ ।

पछिल्लो चलचित्रमा हिरोइज्म भूमिकामा देखा पर्दै आएकी रेखा रामप्यारीमा दोहोरो भूमिकामा छिन् । यसमा उनले जमेर एक्सन प्रदर्शन गरेकी छिन् । टेम्पो चलाउने महिला चालकको भूमिकामा देखिने थापा समाजका खलनायकहरूसँग युद्ध लड्छिन् । ‘रामप्यारी’ मार्फत रेखाकी दिदीका छोरा आभास अधिकारी नायकका रूपमा पदार्पण हुँदैछन् । उनले नायिका आश्मा डिसीको साथ पाएका छन् । नायिका थापाले भने चलचित्रमा नायक सविन श्रेष्ठसँग रोमान्स गरेकी छिन् ।

चलचित्रमा आभास तथा आश्माबीचको प्रेमलाई सफल बनाउन टेम्पो चालक रामप्यारीले प्रेमका शत्रुहरूसँग लडाइँ लडेको देखाइएको छ ।

चलचित्र ‘रामप्यारी’मा शिव ढकालको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको नृत्य निर्देशन तथा अर्जुन जिसीको सम्पादन छ । रामप्यारीको निर्देशन भने सविर श्रेष्ठले गरेका छन् ।

Comments