काठमाडौं । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको नयाँ चलचित्र दर्शकहरुले फेरि हेर्न पाएका छन् ।

श्रेष्ठद्धारा अभिनित रिलिज हुन बाँकी रहेको चलचित्र इन्द्रावती शुक्रवारदेखि प्रदर्शनमा आएको हो । बद्री अधिकारीको निर्देशन रहेको यस चलचित्रमा विपना थापाले पनि अभिनय गरेकी छिन् । उनी पनि नेपाली चलचित्र क्षेत्रबाट पलायन भएको दशक पुगिसकेको छ ।

साहित्यकार रमेश विकलको कृति ‘अबिरल बग्दछ इन्द्रावती’मा आधारित इन्द्रावती चलचित्रमा यस अघि निर्देशक अधिकारीले नै सिरियल समेत बनाएका थिए । चलचित्रको रिलिज भने करिब एक दशकपछि मात्र हुन लागेको हो ।

शुक्रवारदेखि नै अर्को फिल्म ‘जन्मभूमी’ प्रदर्शन हुने भएको छ । मोहन निरौलाको निर्देशनमा बनेको ‘जन्मभूमी’मा अनु शाह, विनोद श्रेष्ठ, निश्मा घिमिरे, ओम प्रतिक, केशब भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् । दिनेशराज शर्माको निर्देशन रहेको ‘लक्की सेभेन’ पनि आजैदेखि प्रदर्शन हुने भएको छ ।

अनाथ वालवालिकाको कथामा आधारित भनिएको लक्की सेभेनमा जय किशान बस्नेत र स्व.नायिका जेशिका खड्काको अभिनय रहेको छ ।

Comments