काठमाडौं । नेपालले नामिबिया विरुद्ध खेल्ने विश्व क्रिकेट लिगका लागि २५ सदस्यीय खेलाडी छनोट गरेको छ ।

आगामी अप्रिल दोस्रो साता काठमाडौंमा हुने खेलका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एसियाका प्रमुख विकास अधिकृत भेन्कत्पथी राजु, प्रशिक्षक जगत टमाटा र खेलाडी पारस खड्का रहेको तीन सदस्यीय स्वतन्त्र छनोट समितिले २५ सदस्यीय खेलाडी टोलीको नामवली शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको हो ।

४० खेलाडीबाट २५ खेलाडीको छनोट गरिएको प्रशिक्षक टमाटाले जनाएका छन् । अन्तिममा ४ वैकल्पिकसहित १८ खेलाडीको छनोट गरिने उहाँले बताउँनुभयो । छनोट भएका खेलाडीहरुमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्तिप्रसाद गौचन, सोमपाल कामी, बसन्त रेग्मी, सागर पुन, विक्रम सोब, सुवास खकुरेल, करण केसी, नरेश बुढा ऐर, सिद्धान्त लोहनी, सन्दिप लामिछाने, अनिलकुमार मण्डल तथा सुशील धमला रहेका छन् ।

अन्य खेलाडीमा दीपेन्द्रसिंह ऐरी, राजु रिजाल, प्रेम तामाङ, सुशन भारी, मन्जित श्रेष्ठ, अभिनास कर्ण, आरिफ शैख, राजेश पुलामी मगर, प्रदीप ऐरी तथा विनोद भण्डारी छन् ।

विश्वक्रिकेट लिगअन्तर्गत पहिलो खेल अप्रिल १६ र दोश्रो खेल अप्रिल १८ तारिखमा हुनेछ । दुवै खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनेछ ।

Comments