२३ मार्च, बुधवार । आज बेलुका काम सकिएपछि, फ्लिन्डस् स्ट्रीटबाट ट्रेन समातें, झण्डै झण्डै छुटिसकेको !

मेरो सिटको अगाडि, एउटी नेपाली महिला थिईन् । मोबाईलमा ब्यस्त देखिन्थी, सायद कसैको प्रतीक्षामा थिईन् कि ?
ट्रेन नर्थ मेल्बर्नमा अडियो, एउटा अधवैंसे पुरुष ट्रेनभित्र पस्यो र मेरो सिट अगाडिको नेपाली महिला भएतिर आयो तर सिट खाली नभएको कारणले ती महिला पनि उठिन् र दुबैजना पल्लोपट्टिको सिटमा गएर बसे । ए ! ट्रेनमा भेट्ने कुरो पो रहेछ भन्ने बुझें । कुरा सुन्दा ऊनीहरु श्रीमान् श्रीमती भएको अनुमान लगाएँ ।

हाम्रो गन्तब्य अघि बढ्यो । मेरो अन्तिम गन्तव्य ग्लेनरोय आइपुग्यो र म ओर्लिएँ ।

बाटोभरि ऊनीहरु को कुरा सुने, तर मलाई खै किन हो ऊनीहरुको कुरा पटक्कै चित्त बुझेन । त्यो पुरुषले उसको श्रीमतीलाई साह्रै नै होच्याएर बोलेको, कुनै कुरामा समर्थन नदिएको अनि तँ भनेर सम्बोधन गरेको,बेला बेला मा अपशब्द बोलेको सुनेर, आज हिमालयन कङ्गारु मार्फत मनको कुरा यहाँ अभिव्यक्त गर्न मन लाग्यो ।

किन यो शताब्दीमा पनि महिलालाई घरभित्रै सीमित गराउन खोज्छन् हामी नेपाली ? बाहिरी कार्यालयमा दिनभरि काम गरेपनि, घरमा आएर महिलाले मात्र यो पनि,त्यो पनि सब काम गर्नैपर्ने । अनि श्रीमान भनाउँदा चाहि जतिखेर आए पनि हुने ! त्यही पनि साथीहरु बटुलेर टन्न रक्सीले मातेर ।

यस्तो प्रवृत्ति बिदेशएर यहाँ मेलबर्न आइपुगेका शिक्षित भनाउँदाहरुमा पनि नदेखेको भने होइन मैले । यहाँ त झनै दुवै जनाले काम गर्नैपर्ने बाध्यता छ । तर यहाँ पनि कुनै कुनै यस्ता परिवार र जोडी देखेकी छु जहाँ महिलाले नै घरको पनि सबै कामधन्धा एक्लै सक्नु पर्ने चलन छ । रमाइलो, छुट्टी, मोजमस्ती अनि दिन र रातमा पनि फरक सोंच रहेको पाइन्छ ।

हुन त यो सबको पछाडि उसको मानसिकता,वाल्याकाल र पारिवारिक पृष्ठभूमिको ठूलो हात होला । तर समृद्धि र प्रगतिको बाटो खोज्दै सात समुद्रापारि आएर पनि त्यो साँघुरो घेराबाट माथि उठ्न नसक्नेले के प्रगति र उन्नतिको सपना देख्नु भन्ने लाग्छ ।
किनभने समय अनुसार परिस्थितिसंगै आफूलाई परिवर्तन गर्नसक्नुपर्छ भन्ने मेरो मान्यता हो ।

समृद्धि र प्रगतिको बाटो खोज्दै सात समुद्रापारि आएर पनि त्यो साँघुरो घेराबाट माथि उठ्न नसक्नेले के प्रगति र उन्नतिको सपना देख्नु भन्ने लाग्छ ।

अर्को कुरा श्रीमान र श्रीमतिबीच माया,विश्वास, साथ अनि खुसी सबैमा समानता आवश्यक पर्छ । यदि दुई मध्ये कुनै एक बिग्रियो भने अर्को पनि यसै बिग्रिन्छन् ।

दवाब र घमण्डले, जीवनलाई खुशीको बाटो देखाएको मेरो जानकारीमा छैन । त्यसैले दुबैले एक अर्कावीच सम्मान र प्रेमपूर्ण व्यवहार गर्न आवश्यक छ ।

यसै भनेका होइनन् होला, “श्रीमान् र श्रीमति भनेका एकै रथका दुई पांग्रा भनेर“ ?

यस अर्थमा म निकै भाग्यमानी ठान्छु आफूलाई । किनभने मसँगै छ मेरो हौसला, मेरो सहयोगी, मेरो साथी अनि मेरो जीवन साथी सिर्फ मेरो “रविन“ ।

Comments